अरनीको दिवसमा राष्ट्रिय ललितकला कार्यशाला हुने
रुपन्देही । अरनीको दिवसको अवसर पारेर रुपन्देहीमा राष्ट्रिय ललितकला कार्यशाला २०७४ हुने भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा नेपाल कर्मिशियल आर्टिष्ट संघ रुपन्देही र अरनीको स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा पुस २२ र २३ गते रुपन्देहीको शंकरनगरमा कार्यशाला हुन लागेको हो ।
विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय विभूती अरनीको सम्झनामा ३५ जना कलाकारले विभिन्न प्रकृतिका चित्रहरु कोर्ने आयोजकले जनाएका छन् । बुटवल, भैरहवा, पाल्पा, नवलपरासी, गुल्मी अर्घाखाँची, पर्वत सहित जर्मनीका कलाकार जम्मा भएर लुम्बिनी क्षेत्रका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको आकृति क्यानभासमा उतार्ने नेपाल कर्मिशियल आर्टिष्ट संघका अध्यक्ष एचवि रम्तेलले बताए । आफूहरुले २०६७ सालमा बुटवलको हिलपार्कमा विभिन्न आकृतिका मूर्ती निर्माण गरेको बताउँदै आफूहरु रचनात्मक काममा क्रियाशिल भएको रम्तेलले बताए ।
ललितकलामा रुपन्देही अगाडी रहेकाले यस क्षेत्रका कलाकारहरुको प्रतिभालाई प्रोत्साहन गर्न अरनीको स्मृति प्रतिष्ठानका अध्यक्ष मन गोल्डीले आग्रह गरे । उनले आगामि शनिबार हुने ललितकला गोष्ठीले देशैभर सकरात्मक सन्देश दिने बताए ।
शनिबार विहान ९ बजेदेखि साँझ ४ बजेसम्म शंकरनगर स्थित वनवाटिकाभित्र बन्ने विभिन्न आकृतिका चित्रलाई तिलोत्तमा नगरपालिकालाई हस्तान्तरण गर्ने योजना आयोजकले बताएका छन् । शनिबार दिनभर निर्माण हुने चित्रको त्यसको भोलीपल्ट आईतबार वनभोज कार्यक्रम सहित प्रदर्शन गरिने आर्टिष्ट संघका अध्यक्ष रम्तेलले बताए । उनले तिलोत्तमा व्यापार संघले आयोजना गर्ने महोत्सवमा अवसर दिएमा चित्रकलालाई प्रदर्शन गरिने समेत बताए ।
विभिन्न समयमा निर्माण भएका मूर्ती र चित्रहरुको सम्म्मान हुन नसकेकाले स्थानीय तहले कलाकारहरुलाई प्रोत्साहनको खाँचो रहेको कलाकार यम थापाले बताए । पत्रकार सम्मेलनमा आर्टिष्ट संघका उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, सचिव बेनप्रसाद थापाले बोल्दै कलाकारको सम्मान सरकारले गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रमको शनिबार तिलोत्तमा नगरपालिकाका मेयर वासु घिमिरेको प्रमुख आतिथ्यमा हुनेछ ।