२०७५ कार्तिक २८, बुधबार

‘अप्रिल फुल’ले प्रत्येक किशोर–किशोरीको कथा बोकेको छ-कृष्ण आचार्य, लेखक

August 12, 2018
1198 Views
Spread the love
  • 2.1K
    Shares

लेखक एवं पत्रकार कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ छिट्टै बजारमा आउँदै छ । एक दशकदेखि पत्रकारिता गर्दै आएका आचार्यको उपन्यास प्रकाशन अघि नै निकै चर्चामा छ । उपन्यासको ‘फस्ट लुक’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पुस्तकको छुट्टै माहौल बनिरहेको छ । छोटो समयमा नै थुप्रै फ्यान फलोअर्स कमाएका उनी पुस्तकलाई लिएर आफै पनि निकै उत्साहित छन् । ‘अप्रिल फुल’ को लेखन, विषयवस्तु, आचार्यको लेखन यात्रा आदिका विषयमा लेखकसँग हिमाल पोस्टले गरेको कुराकानीको सम्पादित अंश

‘अप्रिल फुल’ को ‘फस्ट लुक’ सार्वजनिक भएसँगै कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
निकै राम्रो प्रतिक्रिया आइरहेको छ । फस्ट लूकमै यति धेरै चर्चा हुन्छ भन्ने मैले सोचेकै थिइनँ । जे होस्, आम पाठक तथा अग्रजबाट आएको प्रतिक्रियाले म निकै उत्साहित छु ।

पाठकको हातमा चाहिँ पुस्तक कहिलेसम्म पर्छ त ?
भदौभित्रै विमोचन गर्ने भन्ने एक किसिमको तयारी हो । कुनै प्राविधिक समस्या नआएमा सोही अवधिमा पाठकमाझ ‘अप्रिल फुल’ पुग्नेछ ।

पुस्तक लेख्नु आफैमा एउटा जटिल कार्य हो । यो रिक्स कसरी उठाउनुभयो ?
खासमा उपन्यास लेख्ने मेरो कुनै योजना नै थिएन । चार वर्षअघि बिहानको खाली समय सदुपयोग गर्नका लागि केही लेख्नुपर्‍यो भन्ने सोच बनाएँ । एक साता लगाएर कापीमा एउटा कथा लेखेँ । आफैलाई राम्रो लाग्यो । त्यसपछि, मैले यसलाई उपन्यासको रूपमा ढाल्नुपर्छ भन्ने लाग्यो । अनि लेख्दै गएँ । लेख्न बस्नुअघि कहिल्यै के लेख्ने भन्ने सोचिनँ । लेख्न बसेपछि मन, मस्तिष्कमा जे आउँथ्यो त्यही लेख्थेँ । करिब दुई महिनामा एउटा सानो कपी भरियो । अब पुग्यो भन्ने लाग्यो । थप एक महिना लगाएर त्यसलाई ल्यापटकमा उतारेँ । पहिलो पटक साथी नमराजलाई सुनाएँ । उसले खुबै मन परायो । मलाई पनि के–के नै गरेजस्तो लाग्यो ।
त्यसपछि पेनड्राइभमा राखेर त्यो सबै दाइलाई हेर्न दिएँ । उहाँले भएन भन्नुभयो । १० वटा बुँदामा सुझाव दिनुभएको थियो । त्यसमा लेखिएको एउटा बुँदा ‘लेखकले आफ्नो कृति १०० पटक पढेर करेक्सन गर्नुपर्छ र १० पटक पुर्नलेखन गर्नुपर्छ’ भन्ने थियो । त्यस कुराले मलाई भित्रैदेखि छोयो । र, मैले त्यसै गर्न थालेँ । पछि अझ राम्रो भएजस्तो लाग्यो । त्यसपछि बल्ल मैले उपन्यास निकाल्छु भन्ने सङ्कल्प गरेँ ।

१०० पटक पढ्नुभयो त ?
पढिन नि । त्यस्तै १० पटक पढेँ हुँला । रोचक कुरा त के छ भने यो उपन्यास तीन वर्षअघि झन्डै प्रकाशन भइसकेको थियो । एक जना दाइलाई हेर्न दिएको थिएँ । उहाँले ‘ल राम्रो छ’ मेरो पब्लिकेशनबाट छाप्नुपर्छ भन्नुभयो । मैले पनि सहमति जनाएँ । तर, कारण बस् प्रकाशन भएन । मैले फेरि पढ्न थालेँ । सुरुमै एउटा ठुलो गल्ती भेटियो । त्यसपछि होइन, अझै पुस्तक प्रकाशन गर्ने बेला भएको छैन रहेछ भन्ने लाग्यो र फेरि दाइले भने झै गर्न थालेँ ।

अब छाप्न योग्य भयो भन्ने चाहिँ कहिले लाग्यो ?
त्यो त धेरै पछि हो । त्यस्तै, ६ महिना भयो होला । मैले केही साथीहरूलाई प्रिन्ट गरेर पढ्न दिएँ । उहाँहरूको सुझावअनुसार मिलाउँदै लगेँ । त्यसपछि केही अग्रजहरूलाई दिएँ । आफै पनि विभिन्न पुस्तकहरू पढ्न थालेँ । त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । १० पटकभन्दा बढी पुर्न लेखन गरे हुँला । अहिले सोच्छु, त्यति बेला त यसले उपन्यासको रूप नै लिएको रहेनछ ।

उपन्यासमा के–कस्ता कथावस्तु उठान गर्नुभएको छ ?
उपन्यास केमा आधारित छ भन्ने प्रश्नमा म जहिल्यै, ‘रियालिटीलाई फिक्सनाइज’ गरेको छु भन्ने जवाफ दिन्छु । अर्थात्, हाम्रै समाजको कथा यसमा छ । केवल पात्रहरू मात्र फरक हुन् । कतै–कतै काल्पनिक कथावस्तु पनि होलान् । तर, कहीँ न कहीँबाट त्यसको जड समाज नै हो । उत्पादन पात्र यहीँका साङ्केतिक हुन् । प्रेममा आधारित उपन्यास भएकाले किशोर–किशोरीको विषयमा केन्द्रित हुनु स्वाभाविक हो । तर, म के पनि भन्न सक्छु भने आमाबाबुले आफ्ना छोराछोरीलाई बुझ्नका लागि पनि यो उपन्यास पढ्न आवश्यक छ । समग्रमा भन्नुपर्दा, उपन्यासले प्रत्येक किशोर–किशोरीको कथा बोकेको छ ।

उपन्यासले तपाईँको जीवन चाहिँ कत्तिको बोलेको छ नि ?
बोल्दै बोलेको छैन भनेर म भन्दिनँ किनभने जति पन्छिन खोजे पनि मानिस आफ्नो यथार्थ धरातलभन्दा बाहिर जान सक्दैन । तर, उपन्यास पढ्दा पाठकहरूले यो पक्कै लेखकको आफ्नै कथा हो भन्ने जुन सम्भावना छ त्यसलाई भने म स्विकार्न सक्दिनँ । केही सहज हुने भएकाले आफै परिपरीका पात्रलाई उतारेको भने पक्कै हो । तर, प्रेम कथा नै मेरो भन्ने चाहिँ होइन ।

‘अप्रिल फुल’ नाम कसरी जुराउनु भयो र उपन्यासको मुख्य विशेषता केलाई मान्नुहुन्छ ।
नामको विषय पनि केही रोचक छ । खासमा उपन्यासमा ठाउँ–ठाउँमा अप्रिल फुलको दिन जोडिएको छ । नाम के राख्ने त भनेर सोच्दै गर्दा दिमागमा यही क्लिक भयो । साथै, अलि युनिक पनि लाग्यो । दुई–चार जानासँग सुझाव माग्दा ‘ल गज्जब नाम’ भन्नुभयो । साथै, यसले साङ्केतिक अर्थ पनि बोकोको छ । हामील अप्रिल फुलको दिनलाई झुट बोल्ने, अरूलाई दुःख दिने, ठग्ने आदि रूपमा लिन्छौँ । तर, जीवनले हामीलाई कसरी फुल बनाइरहेको छ, हामी आफै कसरी फुल बनिरहेका छौँ भन्ने कुरा हामीले बुझ्न सकेका छैनौँ । उपन्यास पढेपछि पक्कै पनि यो कुरा धेरैले बुझ्नुहुनेछ ।

अर्को, उपन्यासको मुख्य विशेषताको रूपमा मैले अहिले दुई कुरालाई उठाउन चाहेँ । एउटा, भाषा र अर्को शैली । मेरो बुझाइमा सबैभन्दा महत्त्वपूर्ण कुरा यिनै हुन् । कथावस्तु तेस्रो महत्त्वको पक्ष हो । मेरो उपन्यासमा भाषा निकै सरल छ । जो कोहीले पनि शाब्दिक अर्थका लागि पढ्दा–पढ्दै डिसनेरी खाल्नुपर्ने अवस्था आउँदैन । त्यस्तै, उपन्यास बगेको छ । आफ्ना गन्थन–मन्थन थेरै मिसाएर अनावश्यक सैद्धान्तिक विचार पस्किने गल्ती गरेको छैन । ड्राफ्ट हेर्ने अग्रजहरूले पनि तपाईँको पुस्तक पढ्न सुरु गरेपछि बिचमा छाड्ने मन नै नलाग्ने खालको छ भन्नुभएको छ । त्यस्तै, कथाहरू पनि कमजोर छैनन् भन्ने मलाई लाग्छ । पाठकका लागि फरक स्वाद छ । हेरौँ, अब उहाँहरूको प्रतिक्रिया कस्तो आउँछ ।

उपन्यासले पाठकलाई कत्तिको रुवाउँछ ?
पक्कै पनि रुवाउँछ । तर, रुवाउने मात्र नभएर हँसाउँछ पनि । हामीले फिल्मले पाठक हँसाउनुपर्छ र उपन्यासले रुवाउनुपर्छ भन्ने गलत मानकिसता बोकेका छौँ । मैले उपन्यासमार्फत त्यसलाई तोड्ने प्रयास गरेको छु । ह्युमरको प्रयोग गरेको छु । मलाई जहाँसम्म लाग्छ पाठकलाई पुस्तक पढेर हँसाउन सक्नु पनि एउटा कला हो । हेरौँ, उहाँहरू कत्तिको हाँस्नुहुन्छ ।

यसले कुनै सन्देश पनि दिन्छ कि मनोरञ्जन मात्र ?
भरपुर मनोरञ्जनका साथमा सन्देश पनि दिन्छ । यो उपन्यासको विशेषता नै हो । प्रेमी–प्रेमिकाका संवादहरू, सम्बन्धहरू, साथी–साथीबिचको सम्बन्ध, घर–परिवार, समाज उपन्यासमा सबै कुरा छ । भन्नाले उपन्यास प्रेमिल पनि छ र यसले सामाजिक विषयमा एउटा बहस पनि पक्कै चलाउँछ । उपन्यासमा एउटी वेश्या पात्र छिन् । कैयौँ पुरुषसँग रात बिताएकी ती युवती र उपन्यासको मुख्य पात्रको प्रेमले धेरैलाई प्रेमको महत्त्व बुझाउने छ । उसले रगतले चिठ्ठी लेख्दाको क्षणले सबैलाई रुवाउने छ । म आफै त्यहाँनिर आइपुग्दा कति पटक रोएको छु  ।

त्यस्तै, प्रेम सँगै उपन्यासमा यौनका कुरा पनि आउँछन् । यौनको आवश्यकता, महत्त्व, यस विषयमा सामाजिक धारणा, यौनका विषयमा युवतीको मनोविज्ञान, प्रेममा यौनको गहिरराई, त्यसले पारेको प्रभाव आदि उपन्यासमा पढ्न पाइने छ । ड्राफ्ट पढ्दै गर्दा साथीले मलाई भनेको थियो, ‘यार, तैँले यस्ता कुरा कसरी थाहा पाइस् ?’ यसका लागि मैले थुप्रै अध्ययन, अनुसन्धान गरेको छु ।

उपन्यासबाट तपाईँले कस्तो अपेक्षा गर्नुभएको छ ?
केही काम गरिसकेपछि प्रतिफलको आस त अवश्य गरिन्छ नै तर, मैले म रातारात हिट हुन्छु भन्ने अपेक्षा भने गरेको छैन । मलाई हिट भन्दा लोकप्रिय हुनु छ । अर्थात्, जतिले मेरो उपन्यास पढ्नुहुन्छ उहाँको मनमा बस्न सके भने त्यहीँ नै मेरा लागि ठुलो उपलब्धि हुनेछ ।

तर, तपाईँको फ्यान फलोअर्स त निकै छन् नि । अहिलेको चर्चाले पनि हिट हुने सङ्केत देख्नुहुन्न ?
मलाई माया गर्ने धेरै हुनुहन्छ । मैले विभिन्न सञ्चारमाध्यममा कथाहरू लेख्ने भएकाले पनि होला यो सङ्ख्या पढ्दै गइरहेको छ । पुस्तक आउनुअघि नै फेसबुकमा ८ हजार फलोअर्स पुग्नु, अप्रिल फुलको नाममा खोलिएको ग्रुपमा १२ हजार मेम्बर पुग्नु, फेसबुक पेजमा राम्रो रेस्पोन्स मिल्नु मेरा लागि पक्कै पनि खुसीको कुरा हो । साथै उहाँहरूले मलाई यति माया गर्नुहुन्छ कि हरदम साथ तथा सहयोग गर्न तयार हुनुहुन्छ । पुस्तक आउनुअघि नै यसरी माया गर्ने मान्छे कमाउनु पक्कै पनि मेरो भाग्यको कुरा हो । र, यससँगै उहाँहरूको विश्वास पनि उत्तिकै छ मप्रति । अब मैले त्यसमा कत्तिको न्याय गर्न सकेको छु भन्ने कुरा उहाँहरूकै प्रतिक्रिया आएपछि थाहा हुँदै जाने हो । खासमा म हिट हुन दौडिने पक्षमा छैन । तर, भइहाले पनि त्यसलाई कसरी अस्वीकार गर्न सकिन्छ र ? (हाँस्दै)

तपाईँको लेखन यात्रा चाहिँ कसरी सुरु भयो ?
म सानैदेखि कथा, कविता, गजल लेख्थेँ । १५ वर्षको हुँदा मेरो सम्पादनमा ‘देउखुरी बाल दर्पण’ नामक साहित्यिक कृति प्रकाशन भएको थियो । त्यस्तै, दाङमा हुँदा १६ वर्षको उमेरमा ‘देउखुरी राष्ट्रिय दैनिक’ नामक पत्रिकामा समाचार सम्पादकको जिम्मेवारी निभाएँ । त्यति बेला देखि नै मलाई लेखनमा खुब रहर लाग्थ्यो । लेखिसकेपछि सबैले प्रोत्साहन पनि दिनुहुन्थ्यो । पछि काठमाडौँ आएको चार वर्षपछि जागिर सुरु गरेँ । मिडिया लाइनमा भएकाले लेखेका कुरा प्रकाशित हुँदै गए । र, मेरो रुचि पनि बढ्दै गयो ।

लेखनमा प्रेरणा कहाँबाट पाउनुभयो ? कसैलाई आदर्श पात्र मान्नुहुन्छ ?
स्कुलको लाइब्रेरीमा मुना, नव युवा, गरिमा, मधुपर्क जस्ता पत्रिका पढ्थेँ । प्लस टू पढ्न काठमाडौँ आएपछि उपन्यासहरू पढ्न थालेँ । दाइलाई उपहारस्वरुप थुप्रै पुस्तकहरू आउँथे । म ती छानिछानी पढ्थेँ । मलाई पहिलोटिक प्रभाव पारेको पुस्तक चाहिँ शरद पौडेलको ‘लिखे’ हो । लिखे पढेपछि उपन्यासमा मेरो रुचि बढ्न थाल्यो । त्यसपछि झमक घिमिरेको ‘जीवन काँडा कि फुल’ पढेँ । त्यसले त रुवायो नै । सरु भक्तको ‘पागल बस्ती’ पनि गज्जब लाग्यो । पारिजातको शिरीषको फुल, म्याक्सिम गोर्कीको आमा, विपी कोइरालाका ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्नीमा’, नरेन्द्र न्यौपानेको ‘दरबार बाहिरकी महारानी आदि पुस्तक तथा लेखक मेरा लागि प्रेरणाको स्रोत बने । मैले सुबिन भट्टराई, चेतन भगतदेखि पाउलो कोएलोसम्मलाई पनि पढेको छु ।

अन्तिममा केही भन्न चाहनुहुन्छ ?
मेरो उपन्यास ‘अप्रिल फुल’ पढेर पाठकहरूले मलाई प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गरेको छु । यहाँहरूको सकारात्मक प्रतिक्रियाले मलाई थप हौसला मिल्नेछ भने कमीकमजोरी औँल्याइदिनुभयो भने पनि आगामी दिनमा थप सुधार गर्दै लैजाने अवसर प्राप्त हुनेछ । पुस्तक विमोचनमा धेरैभन्दा धेरै सहभागी हुनुहुनेछ भन्ने विश्वास पनि लिएको छु । उपन्यास सम्बन्धी समाचार, कभर पेज सेयर गरेर सबैले साथ दिइरहनु भएको छ, यो पनि मेरा लागि निकै हो ।

Facebook Comments
  • 2.1K
    Shares

You may be interested

बिरामी बोकेको एम्बुलेन्सको ठक्करबाट कैलालीमा ३ जना घाईते
समाचार
0 shares23 views
समाचार
0 shares23 views

बिरामी बोकेको एम्बुलेन्सको ठक्करबाट कैलालीमा ३ जना घाईते

विशाल पाण्डेय - २०७५, २८ कार्तिक २०:४२

पदम ओझा  बौनिया ,कैलाली  । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. १ कट्टीपुर चोकमा विरामि बोकेको एम्बुलेन्सले ठक्कर दिदा ३ जना…

मंसिर १ गतेबाट बर्दगोरियामा सुरुहुने जे.टि कप किक्रेटको तयारी अन्तीम चरणमा
खेलकुद
0 shares22 views
खेलकुद
0 shares22 views

मंसिर १ गतेबाट बर्दगोरियामा सुरुहुने जे.टि कप किक्रेटको तयारी अन्तीम चरणमा

विशाल पाण्डेय - २०७५, २८ कार्तिक १९:०४

कैलाली । चौथो संस्करणको अक्सबृज पव्लिकेसन जे.टि कप किक्रेट प्रतियोगिता २०७५ को तयारि तिब्र अन्तीम चरणमा पुगेको छ । मंसिर…

मुक्त कमैया शिविरका ६२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण
समाचार
0 shares16 views
समाचार
0 shares16 views

मुक्त कमैया शिविरका ६२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

विशाल पाण्डेय - २०७५, २८ कार्तिक १८:४९

गोविन्द बीसी / बौनिया,कैैैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १, लम्की स्थित एकतानगर मुक्त कमैया शिविरका बालबालिकाहरुलाई आज शैक्षिक…