कांग्रेस वडाध्यक्षलाई फसाउने, अपहरणको नाटक गर्ने माओवादी कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेस वडाध्यक्षलाई फसाउने, अपहरणको नाटक गर्ने माओवादी कार्यकर्ता पक्राउ



आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका विदुर नगरपालिका–३ का धनबहादुर रिमाल र झुठो विवरण दिन सहयोग गर्ने नारायण रिमाल र राजुप्रसाद रिमाललाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको हो ।

नारायण रिमाल स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट वडाध्यक्षका पराजित उम्मेदवार हुन् ।
उनीहरुलाई कारबाहीका लागि प्रशासन कार्यालयमा सार्वजनिक अपराधअन्तर्गतको मुद्दा दर्ता गराएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

धनबहादुरले सोही वडाका वडाध्यक्ष बद्री रिमालसहितका पाँचजनाले आफूलाई अपहरण गरी जंगलमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्दै एक लाख र सुनको सिक्री लगायतका गहना लुटेको भन्दै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अभियोगमा सोमबार उजुरी दिएका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सूचना झुठो भएको र वडाध्यक्षलाई फसाउन नियोजितरुपमा लागेको पाइएकाले पीडित हुँ भन्नेलाई नै पक्राउ गरी कारबाही शुरु गरिएको उनले जानकारी दिनुभयो ।

अपहरणमा परेको भनिएका धनबहादुर गम्भीर घाइते भएको भन्दै जिल्ला अस्पताल त्रिशूली र वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराउन भर्ना भएपनि अवस्था सामान्य पाइएपछि कारबाहीका लागि प्रहरीले नुवाकोट ल्याएको हो । लोकान्तर को सहयोगमा