अन्यौलमा तत्कालिन एमालेको प्रवासी विद्यार्थी संगठन अभानेस्ववियु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अन्यौलमा तत्कालिन एमालेको प्रवासी विद्यार्थी संगठन अभानेस्ववियु



अर्जुन खनाल  /नयाँ दिल्ली

भारतमा छरिएर बसेका विद्यार्थीहरुलाई गोलबन्द गर्दै ८ मार्च १९८३ मा स्थापना भएको तत्कालिन नेकपा एमाले निकट अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी यूनियन पछिल्लो समय निस्कृय बन्दै गएको छ ।

नेपालमा दुई ठुला कम्युनिष्ट पार्टीको मिलन पश्चात् नेकपा गठन भए पनि प्रवासका भात्रृ संगठनहरु भने अन्योलमा परेको विद्यार्थी नेताहरु बताउछन्।

७० वर्ष देखीको आम नेपाली जनताको चाहना संविधानसभाबाट संविधानले मूर्तरूप पाएको र तीन तहको चुनावबाट जनताले ऐतिहासिक जनमतका साथ नेपाल कम्युनिस्ट पार्टीलाई स्थायी सरकार मार्फत समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि गहन अभिभारा सुम्पिएको छ र संगसंगै हामीलाई थप उर्जावान् बनाएको छ तर विडम्बना के छ भने यस विषयमा नेतृत्वदायी अनि सकारात्मक उत्प्रेरणाको भूमिका खेल्नुपर्ने गौरवमय इतिहास बोकेको संगठनले आफ्नो ऐतिहासिक भूमिका र मार्क्सवादी विचार र सिद्धान्तबाट च्यूत भएको अनुभुत भएको भारतमा अध्ययनरत तत्कालिन एमाले निकट एक विद्यार्थी नेताले बताए ।

अभानेस्ववियुको विधानमा हरेक तीन वर्षमा गर्नुपर्ने सङ्गठनको अधिवेशन वर्तमान कार्यसमितिले आफ्नो तोकिएको कार्यकाल समाप्त भईसक्दा समेत अधिवेशन वा एकता गर्ने कुनै छाटँकाट देखाएको छैन। फलत: ठुलो तप्कामा विभिन्न समितीमा रहेका आम बिद्यार्थीहरुमा निराशा देखिएको छ। विधानत: हुनुपर्ने अधिवेशन नभएको र एकता प्रक्रियाको सम्बन्धमा पनि संगठनको नेतृत्व बर्ग चलायमान नभएको अवस्थाले नयाँ संभावना बोकेका युवा तथा विधार्थीहरु छायांमा परेपछि उदास बन्दै गरेको देख्न सकिन्छ।

यस बिषयमा अभानेस्ववियुका महासचिब प्रकाश पोख्रेलसंग जिज्ञासा राख्दा “पार्टीकेन्द्रले प्रवासका भात्रृसंगठनको सुचिमा अभानेस्ववियुलाई नै छुटाएको र अहिले त्यहिँ सुचिमा नाम राख्न पहल भईरहेको बताए”। नेकपाले प्रवासमा आफ्नो २१ वटा भात्रृ संगठन रहेको जनाएको छ जसमा अभानेस्ववियु समावेश गरिएको छैन।  “अब पार्टीको निर्देशन आउनासाथ नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने” पनि थप बताए।

आफ्नो कार्यकालमा कुनै पनि विद्यार्थी केन्द्रित कार्यक्रम गर्न नसकेर वर्तमान केन्द्रीय नेतृत्वले आफ्नो लाचारपन प्रस्तुत गरेको देखिएको छ ।  संगठनमा गैर विधार्थीको हालीमुहाली भएको देख्न सकिन्छ, जुन प्रवासको राजनितिको आम चरित्र बन्दै गएको छ। यस बारेमा बुझ्दा अभानेस्ववियु अध्यक्ष कमल थापाले “गैर बिधार्थी नभएको तर पढाई सँगै पेशामा लागेकालाई पनि समाबेश गरिएको बताए। अध्यक्ष थापाले पनि पार्टीको निर्देशनको अभावमा नयाँ परिस्थिति अनुसार संगठनलाई अघि बढाउन र नयाँ नेत्रित्वलाई स्थान दिन नसकिएको बताएका छन्।

अभानेस्ववियुको गरिमा र ईतिहासलाई भारतमा पुनः स्थापित गरि लाखौं प्रवासी बिद्यार्थीहरुको समस्या र मुद्धासंग एकताबद्ध रुपमा अघि बढ्नका खातिर तत्काल संगठनले अधिवेशन या एकताप्रक्रिया अघि बढाई नयाँ नेतृत्वलाई संगठनको जिम्मेवारी दिनुको विकल्प छैन। यसनिम्ति पार्टीको केन्द्रिय नेतृत्वको ध्यानाकर्षण हुनैपर्ने जरुरी देखिएको छ।

अन्यथा पार्टीको बिद्यार्थी संगठन प्रवासमा शुन्य बन्ने निश्चित छ । यसले एउटा ठूलो शैक्षिक र राजनितिक रुपले चेतनशिल र सकृय जनशक्तिलाई गुमाउने पक्का छ।