विवेकशील साझाकी प्रभावशाली नेतृ कांग्रेसमा प्रवेश
काठमाडौं- विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ कांग्रेस प्रवेश गरेकी छन् । समाजिक अभियन्तासमेत रहेकी श्रेष्ठ सोमबार कांग्रेस प्रवेश गरेकी हुन् ।
लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा स्थापनाकालदेखि नै आवद्ध थिइन् । उनी ०७४ मा भएको चुनावमा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट लडेकी थिइन् । त्यतिबेला पाँच हजार ३७३ मत ल्याएर उनी तेस्रो स्थानमा थिइन् ।
इमेज टेलिभिजनमा लामो समय काम गरेकी उनी प्रेस युनियन इमेज च्यानल प्रतिष्ठानको अध्यक्षसमेत रहेर कार्यभार पूरा गरेकी थिइन् ।
पत्रकारिता विषयमा मास्टर गरेकी उनी अन्तर्राष्ट्रिय महिला संजाल नेपाल शाखाको अध्यक्ष हुन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा र सांसद भीमसेनदास प्रधानले पार्टी प्रवेश गराएका हुन् ।
अनुपा कांग्रेसका चर्चित नेता वीरेन्द्रभक्त श्रेष्ठकी छोरी हुन् ।