काठमाडौँ- २ का उम्मेदवार बोहोरा भन्छन् - बालेनले गर्न नसकेको फोहोर व्यवस्थापन म गर्छु Himal Post
  • २२ कार्तिक २०८१, बिहीबार
  •      Thu Nov 7 2024
Logo

काठमाडौँ- २ का उम्मेदवार बोहोरा भन्छन् – बालेनले गर्न नसकेको फोहोर व्यवस्थापन म गर्छु



आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका अनुप बोहोराले आफ्नो क्षेत्रको फोहोरको समस्या आफूले समाधान गर्ने दाबी गरेका छन् ।

विगत केही दिनदेखि काठमाडौँको फोहोर नउठेका कारण राजधानी दुर्गन्ध भएको भन्दै मेयर बालेन शाहको आलोचना भैरहेको छ ।

बोहोराले भने, ‘फोहोर व्यवस्थापन अहिले भनिएजस्तो त्यति गाह्रो काम पनि होइन । विश्वका विभिन्न देशहरूले वैज्ञानिक ढंगबाट जहाँबाट फोहोरो निस्केको हो, त्यहींबाट व्यावस्थापन गरिरहेका छन् । हामीले पनि त्यो टेक्नोलोजी ल्याउन सक्छौँ ।’

उनले मेयर बालेनलाई फोहोर व्यवस्थापनमा लाग्न सुझाव पनि दिएका छन् । ‘उहाँले निर्वाचनका बेला जे प्रतिबद्धता गर्नुभएको थियो, त्यसमा ध्यान दिनुपर्छ । काठमाडौँको फोहोरो व्यावस्थापन गर्न अहिले सकिएन भने कहिल्यै सकिन्न ।‘

आगामी निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवार उठ्ने लहर चलिरहेका बेला काठमाडौँ क्षेत्र नम्बर २ मा व्यवसायीक पृष्ठभूमिका युवा अनुप बोहोराले उम्मेदवारी घोषणा गरेका हुन् ।

गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालले २७ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरेको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा बोहोराले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बिजनेस एड्मिनिस्टे्रसनमा स्नातक गरेका बोहोरा सफल व्यवसायीसमेत हुन् । स्थानीय युवामाझ परिचित बोहोराले परिवर्तन कुनै पाकेको फल नभएको र पर्खेर बसे परिवर्तन नहुने धारणाका साथ उम्मेदवारी दिन लागेको बताए ।

‘परिवर्तन पाकेको फल होइन,’ बोहोराले भने, ‘यो आफैं आउँदैन । हामी अघि सर्नुपर्छ र परिवर्तनको बाहक बन्नुपर्छ । म मेरो पिढीका लागि नमूना बनेर यहाँको स्थानीय समस्याहरूलाई राष्ट्रिय मुद्दा बनाएर संसदमा आफ्नो आवाज उठाउन चाहन्छु ।’

बोहोरा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सदस्यसमेत हुन् । व्यक्तिगत घोषणा गरिएको उनको उम्मेदवारीलाई पार्टीले सदर गर्ने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला देशव्यापी संगठन बनाउन व्यस्त छ । बोहोरा पनि आफ्नो चुनावी अभियानमा होमिइसकेका छन् ।

सरकारले मङ्सिर पहिलो साताभित्र निर्वाचन हुने बताएपनि अहिलेसम्म औपचारिक रूपमा मिति सार्वजनिक गरेको छैन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते चुनाव गर्ने गरी आयोग तयार भएर बसेको प्रतिकृया दिएका छन् ।

उक्त क्षेत्रमा गत संसदीय निर्वाचनमा नेकपा एसका अध्यक्ष नेपाल निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले १४ हजार ९ सय मत पाएर दोस्रो भएका थिए । विवेकशील साझाका तर्फबाट डा. सूर्यराज आचार्यले भने ७ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनमा पनि अध्यक्ष नेपाल सोही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् । युवा उम्मेदवार बोहोराले नेपालसँग आफू प्रतिस्पर्धा गर्न सक्षम रहेको र जनताले आफूलाई मत हाल्ने विश्वास व्यक्त गरेका छन् ।