उत्तरपुस्तिका अनियमितता काण्ड : पाण्डेले गरे आत्महत्या - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

उत्तरपुस्तिका अनियमितता काण्ड : पाण्डेले गरे आत्महत्या



हिमालपोस्ट/काठमाडौँ-

विशेष अदालतमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।  उनलाई कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएको थियो।

प्रहरीका अनुसार उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्। सो ल फर्म त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको छैटौँ तलामा छ। पाण्डे सो ल फर्ममा परामर्शका लागि गएका थिए र उनले फर्कने क्रममा हाम फालेका हुन्।

महानगरी प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डे पछिल्लो समय पारिवारिक तनावमा थिए र वकिलसँगको परामर्शको क्रममा पनि उनी तनावमै रहेको अनुसन्धानबाट थाहा भएको छ।

पाण्डेले पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए। पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञको रूपमा कार्यरत थिए। उत्तरपुस्तिका परीक्षण अनियमितता गरेर आफन्त र चिनजानका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।