'के उद्देश्यले मेरो गीतको नयाँ भर्सनमा ओरिजिनल श्रष्टाको नाम हटाइयो ?' - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

‘के उद्देश्यले मेरो गीतको नयाँ भर्सनमा ओरिजिनल श्रष्टाको नाम हटाइयो ?’



काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले आफूले गाएको गीत (गजल)बाट ओरिजिनल श्रष्टाको नाम हटाएकोप्रति दुःख व्यक्त गरेकी छन्।

फेसबुकमा एउटा लामो स्टाटस लेख्दै उनले उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नामसमेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु अन्यायपूर्ण भएको उल्लेख गरेकी छन्।

यस गीत पुनः आफूले नै गाउने तयारी रहे पनि आफू अमेरिकामा रहेकाले सम्भावना नरहँदा आफूले नयाँ श्रष्टालाई गीत रेकर्डिङ गर्न दिएको पनि लेखेकी छन्। आफूले खुशीसाथ गीत अरूलाई रेकर्डिङ गर्न मञ्जुरी दिए पनि ओरिजिनल श्रष्टाको भने सम्मान नभएको उनको लेखाइ छ।

केही दिनअघि अन्जु पन्तले गाएको गीत ‘न बिर्सें तिमीलाई न पाएँ गजललाई’ गीतलाई पुनः रेकर्डिङ गरिएको छ। विपिन किरणको शब्द र महेश खड्काको शब्दमा पन्तले गाएको यो गीतलाई नयाँ भर्सनमा रचना रिमालले स्वर दिएकी छन्।

उक्त गीतमा वास्तविक सर्जकको नाम नराखेर नयाँ भर्सनमा नयाँ कलाकारको नाम राखिएको थियो। गीतलाई पुरुष भर्सनमा जगदीश समालले गाएका थिए। तर बिहीबार युट्युबमा सार्वजनिक गरिएको गीतमा पन्त र समालको नाम नभएको प्रति पन्तले दुःख व्यक्त गरेकी हुन्।

गायक राजेश पायल राईले समेत गीतमा ओरिजिनिल गायक गायिकाको नाम हटाउनु दुःखद् भएको बताएका थिए।

यस्तो छ पन्तको स्टाटस:

मेरा सम्पूर्ण श्रोता,दर्शक तथा शुभचिन्तकमा अभिवादन
भर्खरै पुनःरेकर्ड भएर युट्युवमा सार्वजानिक भएको न विर्षेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खवर थाहा पाएँ । यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकहरुले जिज्ञासा र चिन्ता ब्यक्त गर्नुभएको पाएँ । हाल म काम बिशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन यसप्रति क्षमा प्रार्थी छु ।


यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो ।


आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन । केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ । यसैक्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुशीसाथ हुन्छ भनेकी थिएँ ।


अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ र रहिरहने छ ।


उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ । आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस् ।


मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरुबाट पाएको माया र सम्मानप्रति सदैब आभार ब्यक्त गर्दछु ।
अन्जु पन्त