अंग्रेजी बोल्ने पाइलट नपाएर नेपाल वायुसेवालाई तनाव ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अंग्रेजी बोल्ने पाइलट नपाएर नेपाल वायुसेवालाई तनाव !



काठमाडौँ, – अंग्रेजी बोल्ने पाइलट नपाएर नेपाल वायुसेवालाई तनाव भैरहेको छ ।  तीन जना चिनियाँ पाइलट  ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाए पनि यो प्रक्रिया अझै लम्बिने बताइएको छ ।

वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो । आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ ।

चिनियाँ पाइलटको भने लाइसेन्स ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि कागजपत्र बुझाइएको छ । छोटो अवधिका लागि करारमा चिनियाँ पाइलट ल्याउन लागिएको हो । नेपाली पाइलट तयार भए पनि उनीहरुलाई फर्काइनेछ । लामो समयसम्म उनीहरुलाई राख्दा खर्चभार महँगो हुने भएकाले नेपाली पाइलट तयार नभएसम्म मात्र चिनियाँ पाइलट राखिने बताइएको छ ।

अफ्रिका र दक्षिण अमेरिकामा पनि वाइ १२ चलाउने पाइलट पाइन्छ भन्ने जानकारीका आधारमा त्यहाँ खोजी भएको हो । एक/दुई जना पाइलट त्यहाँबाट पनि ल्याउने प्रक्रिया अगाडी बढेको र अहिले उनीहरुको लाइसेन्स र बायोडाटा मगाएको प्राधिकरणले जनाएको छ ।

निगमका पदाधिकारीले सकेसम्म उक्त अवधिमा विमान उडाउन प्रयास गरिने बताएका थिए । तर अहिलेसम्म पनि पाइलटको टुंगो लागेको छैन । निगममा रहेका चार वटा वाइ १२ विमान उडाउनसक्ने दुई जना मात्रै पाइलट छन् । बाँकी दुई वाइ १२ विमान चल्न सकेका छैनन् ।

वि.सं २०६९ मा नेपाल र चीनबीच (दुई वटा एमए ६० र चार वटा वाइ १२) गरी ६ वटा जहाज ल्याउने सहमति भएको थियो । अहिले ६ वटै विमान नेपाल आइसकेका छन् । ६ विमानमध्ये दुई विमान वाइ १२ र एमए ६०, ९५६ सिट क्षमताका विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाइ १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ ।

निगममा लामो समयदेखि पाइलट अभाव छ । अभाव पूर्ति गर्न हालै ४३ जना पाइलटको माग गरेकामा जम्मा ११ जनाको मात्र निवेदन परेको निगमले जनाएको छ । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ विमान उडाउन समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न विमान उडानका लागि पाइलट करारमा राख्न आवेदन मागेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएका सबै विमान तीन महिनाभित्र उडाउन निर्देशन दिएका थिए । चिनियाँ विमान निगमलाई हस्तान्तरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा उनले यस्तो निर्देशन दिएका हुन् ।