अनेकौँ रोगको औषधि:दूबो
सरस्वती ढुङ्गाना
सानो चिजमा पनि धेरै औषधीय गुण लुकेका हुन्छन् । हाम्रा वरपर भएका यस्ता महŒवपूर्ण र उपयोगी वनस्पति, झारपात, घाँसलाई हामीले नचिनेका हुन सक्छौँ । ती हाम्रा वरपर भएर पनि हामीले तिनीको बेवास्ता गरिरहेका छौँ । त्यसमध्येको एउटा उपयोगी झार वा घाँस हो दूबो । दूबो घाँस हो भन्ने हामीलाई थाहा छ तर यो अनेकौँ रोगको औषधि पनि हो भन्ने कुराचाहिँ हामीलाई थाहा नहुन सक्छ । यो घाँस सडक किनारा, चोक, चौर, बगैँचा, खेतका आली आदि ठाउँमा उम्रिएको देख्न सकिन्छ । यसलाई पशुहरूको प्रिय आहारका रुपमा लिइन्छ । दूध दिने पशुलाई यो घाँस खुवाउनाले दूधको मात्रामा अधिक वृद्धि हुन्छ ।
त्यस्तै, एकाबिहानै खाली खुट्टाले दुबोमाथि हिँड्दा वा दूबोमाथि कसरत गर्दा शारीरिक रुपमा धेरै फाइदा पुग्छ । आयुर्वेदमा दूर्वा नामबाट यसको प्रयोग भएको पाइन्छ । संस्कृतमा दूर्वा, अङ्ग्रेजीमा क्रिपिङ साइनोडन तथा ल्याटिनमा साइनोडन इकटाइलन भनिन्छ । दूबो हरियो र सेतो गरी दुई किसिमको हुन्छ । हरियो दूबोलाई नीलो वा कालो दूबो पनि भनिन्छ । यो दूबो शीतल प्रकृतिको हुन्छ । पित्त, रक्तविकार, जलन, रक्तश्राव तथा छालाको रोगमा यसको प्रयोगले लाभ मिल्छ । सेतो दूबोलाई पनि हरियो दूबोको तुलनामा निकै गुणकारी मानिन्छ ।
कसैलाई कुनै प्रकारको चोट लागेर रगत बगेको छ भने दूबोलाई कुटेर त्यसको रस लगाउनाले र सेतो कपडाले बाँध्ने हो भने तुरुन्त रगत आउन बन्द हुन्छ । यदि मुख, कान, नाकबाट रक्तश्राव भएमा हरियो दूबोलाई पिँधेर १० देखि २० मिलिलिटर मात्रा रस बिहान सेवन गर्नाले पर्याप्त मात्रामा लाभ मिल्छ । हरियो दूबोको १०० ग्राम रसमा १०० ग्राम तिलको तेल मिलाएर आगोमा बिस्तारै मनतातो पार्ने यसरी मनतातो पार्दा बाँकी रहेको तेललाई चिसो पारेर सिसीमा जम्मा गर्ने जुन तेल विभिन्न प्रकारका छालाका रोगमा प्रयोग गर्दा लाभ मिल्छ । स्त्रीमा हुने रक्तश्रावमा सेतो दूबोको रस र कुसको जराको रस १५ देखि २० मिलिलिटर पिउनाले लाभ मिल्छ ।
दूबोको रसको प्रयोगले जलन, प्यास, अमिलो डकार, रक्तविकार, पित्त, गर्मीजस्ता रोगबाट मुक्ति मिल्छ । कसैलाई मूत्रप्रणालीमा पत्थरी भएको छ भने १० देखि २० मिलिलिटर सेतो दूबोको रस बिहान–बेलुका पिउनाले उक्त रोगबाट क्रमशः राहत मिल्छ । यस रसको प्रयोगले उल्टी वा वमनलाई रोक्न पनि मद्दत पुग्छ । एक–एक चम्चा २÷३ पटक खानाले वमन रोकिन्छ । ठण्डी प्रकृतिको रोगीले दूबोको झोल अधिक मात्रामा प्रयोग गर्नुपर्छ ।
विश्वप्रसिद्ध चरकसंहिताका प्रतिपादक महर्षि चरकले दूबोलाई विभिन्न रोगको अचुक औषधिका रुपमा प्रस्तुत गरेका छन् । आयुर्वेदमा मात्र नभएर यसको धार्मिक क्षेत्रमा पनि ठूलो महिमा छ । पूजापाठ, विवाह, व्रतबन्धजस्ता शुभकार्यमा समेत यसको प्रयोग गरिन्छ । घर वरपर तथा आफ्नो कम्पाउण्डमा दूबो लगाउनाले ज्यादै लाभ मिल्छ । हरियालीको साथै वातावरण स्वच्छताका दृष्टिले पनि दूबोलाई एउटा उपयोगी घाँसको रुपमा लिइन्छ । आफ्नो घर वरपर थोरै ठाउँमा पनि दूबो लगाएर वातावरण सुधार्न सक्छौँ । त्यसैले धार्मिक, पौराणिक, आयर्वेद आदिका दृष्टिले पनि दूबोको महŒव ज्यादै छ ।