डाक्टर भोजराजको भोट माग्ने अनौठो शैली
चितवन : भोट माग्न हिँड्दै गर्दा नेकपा माओवादी केन्द्रका चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारी मतदातालाई स्वास्थ्य ठीक छ?’ भनेर सोध्छन्।
फिजिसियन डा. अधिकारीले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरधेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आएका छन्।
आफ्नो बिरामी देख्नेबित्तिकै डा. अधिकारीको पहिलो प्रश्न हुन्छ, स्वास्थ्यको। समस्याअनुसार अवस्था सोध्ने र बुझ्ने गर्छन्। झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्षेत्रका धेरै मतदाता अधिकारीका नियमित बिरामी छन् । त्यसैले मतदाताले पनि उनलाई विकास निर्माणभन्दा स्वास्थ्यका विषय धेरै सोध्ने गर्छन्।
अधिकारीसँगै प्रचारमा रहेका साजन अधिकारीका अनुसार पहिलो प्रश्न उपचारकै हुने गर्छ। लामो समयदेखि अधिकारीको परीक्षणमा औषधी खाइरहेकाहरूले जितेर आफूहरूलाई नजाँच्ने हो भने भोट नै हाल्दैनौँसमेत भन्ने गरेका छन् । ‘मसँग धेरैले स्वास्थ्यको प्रश्न गर्छन्’ उनी भन्छन्, ‘अहिले फकाउन मात्र होइन, अरु बेलामा पनि म बिरामीलाई भेटेपछि स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गर्छु।’
भरतपुर अस्पताल विकास समितिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उभिएका अधिकारी जिल्लाका चिनिएका फिजिसियन डाक्टर हुन्। दुई हजारभन्दा बढी आफ्ना नियमित बिरामी आफू चुनाव लड्दै गरेको क्षेत्रमा रहेको उनले बताए। प्रचारकै क्रममा कतिपय बिरामी ‘प्रेस्क्रिप्सन’ बोकेर देखाउन आउने गर्दछन्। कतिपय जटिल बिरामीलाई अधिकारीले गाडीबाट झरेर अवस्था बुझी आवश्यक सुझाव दिने गरेका छन्।
औषधी सकिएकाहरूलाई थप गर्न र मंसिर १० गतेपछि अस्पताल आउन डाक्टरले सुझाव दिने गरेको सहयोगी साजनले बताए। कतिपयले आफू डाक्टरको उपचारले निको भएको भन्दै खुशी प्रकट गर्ने गरेको साजनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा निर्वाचनमा उम्मेदवार हुन गएपछि उनको उत्तराधिकारीका रूपमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार छन्।