कांग्रेसले पार्टीबाटै निष्कासित गर्दा पनि अमरेशले एक्लै लडेर बाजी मारे - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

कांग्रेसले पार्टीबाटै निष्कासित गर्दा पनि अमरेशले एक्लै लडेर बाजी मारे



अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। चुनावको मुखैमा नेपाली कांग्रेसले उनलाई कारवाही गरेर पार्टीबाट निष्कासित गरेको थियो । पार्टीको कारबाहीले पनि उनको जितलाई रोक्न सकेन ।

माछा चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका सिंहले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेका हुन। कांग्रेसले टिकट नदिनुका साथै कारवाही गरेर निकालिदिएपछी स्वतन्त्र उठेर एक्लै चुनावी अभियानमा होमिउका सिंहले अन्तत: नतिजा आफ्नो पक्षमा पारे।

उनले पछिल्लो परिणामअनुसार १७ हजार ७६८ मत ल्याएका छन्। पराजित भएका नगेन्द्रकुमारले १६ हजार २८८ मत ल्याए। उनलाई कांग्रेस सर्लाहीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई कारवाही गरेको थियो। पार्टीको चौधौँ महाधिवेशनदेखि अमरेश र सभापति शेरबहादुर देउवाको सम्बन्धमा चिसोपना आएको थियो।

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाहीअन्तर्गत निलम्बन गरिएको बताएका थिए। सिंहलाई टिकटबाट बञ्चित गर्ने गरी कांग्रेसले उनलाई चुनावको मुखमा कारबाही गरेको थियो। त्यसपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले अन्तत: एक्लै बाजी मारे।