अमेरिका तर्साउने राष्ट्रपति भण्डारीको त्यो सम्बोधन - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

अमेरिका तर्साउने राष्ट्रपति भण्डारीको त्यो सम्बोधन



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले २५ असोज ०७६ साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा सम्बोधन गरिन्, ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजमा सी विचारधारा जनताकेन्द्रित विकासको एक महत्वपूर्ण दर्शन बनेको छ।’

१८ दिनपहिले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे सम्झौता भयो, भाइचारा सम्बन्धका लागि।

सम्झौताको अघिल्लो दिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोलीबाट सी विचारधाराबारे नेकपा केन्द्रीय नेताले प्रशिक्षण लिए। त्यसैको जगमा राष्ट्रपतिको सम्बोधन आएको देखिन्छ।

राष्ट्रपति भण्डारीको सम्बोधन र २० बुँदे समझदारी–सम्झौताका बुँदामा टेकेरै पश्चिमा मुलुकले गम्भीर चासो राख्न थालेका छन्। कूटनीतिज्ञका अनुसार पहिलो– सी विचार निर्यातमा सक्रिय हुन थाल्यो। दोस्रो– चीनको शासन प्रणालीलाई विस्तार गर्न थाल्यो।

अमेरिकाका लागि पूर्वराजदूत सुरेशचन्द्र चालिसेको विश्लेषणमा अमेरिकीहरू अहिले चीन वैकल्पिक विश्व केन्द्र निर्माणमा नेपाल सहयोगी भइरहेको भन्ने बुझाइमा छन्। यो विश्लेषण आज कात्तिक १० आइतबार प्रकाशित नेपाल साप्ताहिकमा योगेश ढकालले प्रस्तुत गरेका छन्।

‘राष्ट्रपति भण्डारीको सम्बोधनमा सी विचारधारा नयाँ युगको दर्शन बनेको प्रसंग मात्र होइन, प्रधानमन्त्रीको कम्युनिस्ट मुलुकको भ्रमणले पनि अमेरिकालाई तर्साएको छ,’ चालिसे भन्छन्, ‘त्यसमा भनेजुएलाको पक्ष र इन्डो–प्यासिफिक रणनीतिविरुद्ध निरन्तरको प्रचण्ड अभिव्यक्तिले अमेरिकी नेपाल चीनको प्रभाव क्षेत्रमा परेको बुझिरहेका छन्।’