अमेरिकाको भर्जिनियामा एक नेपालीको हत्या - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अमेरिकाको भर्जिनियामा एक नेपालीको हत्या



काठमाडौं । अमेरिकामा फेरि एक नेपालीको हत्या भएको छ । अमेरिकाको सुरक्षित क्षेत्र मानिएको भर्जिनियामा गोरखा जिल्लाको केराबारी स्थायी घर भएका रेशम बजगाईंको ज्यान गएको हो ।

भर्जिनिया राज्यको हेरन्डनस्थित ग्यास स्टेसनमा काम गर्दै आएका बजगाईंको बुधबार बिहान सवा एक बजे हत्या भएको हो । नौ महिनाअघि अमेरिका गएका ४० वर्षीय बजगाईंलाई अज्ञात समूहले भर्जिनियाको हरन्डनस्थित फ्रेकलिन फार्मको सुनोको ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा बुधबार बिहान सवा १ बजे उनीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै ज्यान गएको फेयर फ्याक्स प्रहरीले जनाएको छ । उनको टाउकोमा गहिरो चोट देखिएकाले धारिलो हतियार प्रहार भएको आशंका गरिएको छ । ग्राहकले प्रहरीलाई खबर गरेपछि पार्किङ क्षेत्रबाट शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

हप्ताको एक दिन मात्र उक्त ग्यास स्टेसनमा काम गर्ने बजगाई नौ महिनाअघि अमेरिका आएका र उनका श्रीमती र पाँच वर्षीया छोरी रहेका छन् । श्रीमतीलाई डिभी परेका कारण बजगाईं अमेरिका हुन् । श्रीमती र पाँच बर्षकी छोरी ४ बर्षअघि अमेरिका आए पनि उनीआएको नौ महिना मात्रै भएको थियो । काम गर्न सजिलो हुने भएकाले घरनजिकैको ग्यास स्टेशनमा काम गर्दै आएका थिए । तर, विडम्वना ! मिठो खाउँला र राम्रो लगाउँला भनेर आएका उनी नौ महिना पनि बाँच्न पाएनन् । गोरखाको केराबारीबाट भरतपुर सरेका बजगाईं पारिवारको अबस्था नेपालमा निकै नाजुक रहेको बताइएको छ ।

परिवारिक अबस्था कमजोर भएकै कारण बजगाई १० बर्षसम्म खाडी मुलुक कतारमा बसेर काम गरेका थिए । कतारबाट नेपाल फर्केको ३ बर्षपछि उनी गत बर्ष सेप्टेम्बर २०१७ मा अमेरिका आएका हुन् । प्रहरीले घटनामा संलग्न चार जनामध्ये ३ जनालाई पक्राउ गरेको छ । मुख्य अभियुक्त भने अझै फरार रहेको बताइएको छ ।