आलेलाई स्टन्ट गर्न लगाएर सरकारले भ्रष्टाचारको फाइल लुकाएको ओलीको आरोप - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आलेलाई स्टन्ट गर्न लगाएर सरकारले भ्रष्टाचारको फाइल लुकाएको ओलीको आरोप



काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्यटनमन्त्री प्रेम आलेमाथि खनिएका छन् । बतास समूहसँगको विवादमा मुछिएका ओलीले आलेमाथि स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष ओलीले आइतवार १५ बुँदे विज्ञप्ति निकाल्दै शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले भ्रष्टाचारका फाइल लुकाएर केही मन्त्रीलाई स्टन्टबाजीमा उतारेको दाबी गरेका छन्। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भएको भ्रष्टाचारसहितका फाइल सरकारले लुकाएको आरोप लगाएका छन्।

‘ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ‘थप अनुसन्धानका नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ’, ओलीले भनेका छन्, ‘यति गम्भीर विषयमा गरिएको षडयन्त्रबाट ध्यान विकेन्द्रित गर्न कतिपय मन्त्रीहरूलाई विभिन्न ‘स्टन्टबाजी’मा परिचालन गरिएको छ र विपक्षी दलका नेताहरूलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्र भइरहेको छ।’

ओलीले केही समययता नारायणहिटी दरबार संग्रहालय, पशुपतिको धर्मशालासहितका स्थानमा संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले गरिरहेको प्रचारबाजीलाई लिएर यस्तो भनेका हुन्।

आलेले जो कसैले अनियमितता गरे पनि नछाड्ने भन्दै पत्रकारसहित अनुगमनमा निस्कने गरेका थिए। उनकै निर्देशनमा दरबार संग्रहालयमा बनाइएको बतास समूहको संरचना भत्काइएको थियो।

उता पशुपति धर्मशालालाई भाडामा लगाउने निर्णयलाई रद्द गर्न पनि पर्यटन मन्त्रालयको छानबिन समितिले प्रतिवेदन दिइसकेको छ।

‘आफैं अनियमिततामा संलग्न हुने अनि बेथितिबाट ध्यान अन्यत्र मोड्न सस्तो प्रचारबाजीमा उत्रिने गैरजिम्मेवार काम भइरहेको छ। कसैद्वारा पनि अनियमितता भएका छन् भने त्यस्ता विषयमा निष्पक्ष छानबिन हुनुपर्छ र दोषी ठहरिएमा प्रक्रियासम्मत रूपमा कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ’, उनले भनेका छन्, ‘तर, राजनीतिक इबी साध्न र शुभलाभका लागि ‘ब्ल्याकमेल’ गर्ने, उद्यमी-व्यवसायीहरूलाई तर्साउने, बार्गेनिङ गर्ने र मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने कुरा स्वीकार्य हुन सक्दैन।’

एमालेले सङ्क्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन र पीडितहरूलाई न्याय दिलाउन अनिच्छुक गठबन्धनका नेताहरू गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई पनि ढाकछोप गर्न र दण्डहीनतालाई संस्थागत गर्न लागिपरेका पनि जनाएको छ।

‘यसैको एउटा सिलसिलाका रूपमा एकजना मन्त्रीबाट जनमत पार्टीका नेताहरूलाई ‘गौर काण्ड’ जस्तै घटना दोहोर्याएर हत्या गर्न धम्की दिइएको छ’, एमालेले भनेको छ, ‘यस्तो कार्य आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त छ। यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारवाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ।’