अकुत सम्पत्ति छानबिनमा २५ कर्मचारी - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

अकुत सम्पत्ति छानबिनमा २५ कर्मचारी



काठमाडौं-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख देवानन्द उपाध्यायसहित २५ कर्मचारीको ‘अकुत’ सम्पत्तिमा छानबिन अघि बढाउने भएको छ।

अख्तियारले उनीहरूलाई दुई साताभित्र १३ पन्ने सम्पत्ति विवरण फाराम भरेर बुझाउन भनिएको छ। उनीहरूको सम्पत्तिमा आशंका उत्पन्न भएपछि अख्तियारले छानबिनका लागि सोमबार १३ पन्ने विवरण भरेर बुझाउन लगाएको हो।

अख्तियार स्रोतका अनुसार विमानस्थल भन्सारका महाप्रबन्धक उपाध्याय, चिलिमे जलविद्युत् आयोजनाका कार्यकारी प्रमुख दामोदरभक्त श्रेष्ठ, कृषि सामग्री लिमिटेडका वरिष्ठ अधिकृत अच्युत पौडेल, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, सडक विभागका सिनियर डिभिजन इन्जिनियर ज्ञानेन्द्रकुमार झा, दण्डपाणी पौडेल, राजस्व अनुसन्धान विभागका शाखा अधिकृत झविन्द्र पोखरेल, शिवचन्द्र पन्त, आन्तरिक राजस्व विभागका शाखा अधिकृत रमेश भट्टराईलगायतलाई सम्पत्ति विवरण भराइएको छ।

‘२५ कर्मचारीको सम्पत्तिमा शंका उत्पन्न भएपछि १३ पन्ने भराएर छानबिनको दायरामा ल्याइएको छ। उनीहरूको बैंक खाता र सम्पत्ति रोक्का गर्न सोमबारै बैंक र मालपोतलाई परिपत्र गरिएको छ’, स्रोतले भन्यो, ‘सम्पत्ति विवरण आएपछि बयान सुरु हुन्छ।’यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।