धुर्मुस-सुन्तलीविरुद्धको उजुरीपछि 'एक्सन'मा अख्तियार, प्रारम्भिक छानबिन शुरू - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

धुर्मुस-सुन्तलीविरुद्धको उजुरीपछि ‘एक्सन’मा अख्तियार, प्रारम्भिक छानबिन शुरू



गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको प्रारम्भिक छानबिन शुरू भएको छ ।

उजुरीकर्ताले पेश गरेका कागजात र अन्य प्रमाणहरूको अध्ययन भइरहेको अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले हिमालपोस्टलाई बताए ।

‘हामी उजुरीकर्ताले पेश गरेको कागजात र अन्य प्रमाणहरू अध्ययन गरिरहेका छौँ,’ भण्डारीले भने, ‘अध्ययनपश्चात छिटै प्रारम्भिक निष्कर्षमा पुग्छौं । यदि भ्रष्टाचार भएकै हो भन्ने शंकाको घेरा बढ्दै गयो र प्रमाण बलियो हुँदै गयो भने हामी थप अनुसन्धान गर्छौं ।’

उनले दैनिक धेरै उजुरी पर्ने हुनाले सबैको छानबिन प्रारम्भिक अध्ययनबाट शुरू हुने बताए । ‘कतिपय उजुरीहरूमा प्रमाण नपुगे यसबारेमा थप निर्णय गर्नु पर्दैन भन्छौं भने कतिपयका अन्य प्रमाणहरू पनि जुटाएर हेर्छौं,’ उनले भने ।
करोडौंको चलखेल भएको मानिएको रंगशाला निर्माणका क्रममा भएका अनियमितता भने अख्तियारले मिहिन ढंगबाट हेर्ने उनको भनाइ छ ।

‘त्यसका लागि हामी आर्थिक, इन्जिनियरिङ र अन्य प्रस्पेक्टिभबाट पनि अध्ययन गरिरहेका छौं,’ पाण्डेले भने ।
आयोजना बीचमै अलपत्र पारेको र पारदर्शी खर्च सार्वजनिक नगरेको भन्दै अख्तियारमा वागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । उजुरीमा उनीहरूलाई पक्राउ गरेर छानबिन गर्न माग गरिएको छ ।

चितवनमा बन्दै गरेको क्रिकेट रंगशालामा हालसम्म ५० करोड भन्दा माथि खर्च भइसकेको धुर्मुस-सुन्तलीको दाबी छ । त्यसरी गरिएको खर्चको लेखापरीक्षण अहिले हुँदैछ । ५० करोड भन्दा माथि खर्च गर्दा आफूमाथि १७ करोड ऋण लागेको उनीहरूको दाबी छ । ३५ प्रतिशत काम सम्पन्न भएको उनीहरूको दाबीसमेत झुटो रहेको समाचारहरू बाहिर आइरहेका छन् ।

तर भरतपुरकी मेयर रेणु दाहालले महानगर, प्रदेश, स्थानीय सरकारसमेतको सहभागितामा भएका कार्यक्रममा करिब २७ करोड रुपैयाँ फाउण्डेसनलाई आएको दाबी गरेकी छन् ।

धुर्मुसले पनि फाउन्डेसनको तर्फबाट १९ करोड भन्दा बढी पैसा उठेको बताउने गरेका छन् । त्यसमाथि ऋण १७ करोड भएको धुर्मुसले बताएका छन् । खर्च ऋण र उठेको रकम जोड्दा ६३ करोड बढी हुन्छ ।

महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न सघन शहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो ।

प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रंगशाला निर्माणमा हालसम्म ५१ करोड बढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेणु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् ।

मागेर रंगशाला सम्पन्न हुन नसक्ने देखेपछि धुर्मुस-सुन्तली सरकारसँग हारगुहार गर्न थाले । संघीय सरकारले प्रदेश र प्रदेशले स्थानीय सरकारसँग जान भने ।

विशेष परिस्थिति सिर्जना भएका कारण रंगशाला निर्माण हुन नसके त्यसको स्वामित्त्व सरकारले लिने सम्झौता शुरुमै भएको थियो । त्यही सम्झौताका आधारमा भरतपुर महानगरले समग्र मूल्यांकनपश्चात रंगशाला निर्माणको जिम्मा लिने भएको छ ।