आँखिझ्याल - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

आँखिझ्याल




समयको अदालतमा
कठघराभित्र उभिएको-एउटा अपराधी

लाखौँ शुक्रकिटहरुसँगको दौडमा प्रथम बनेर
निस्किएको थिए म-जिन्दगीको यात्रामा

कति बाटाहरु आए
कति बाटाहरु छुटे
कति बटुवाहरु आए
कति बटुवा छुटे
कुनै बटुवाहरु हृदयको फ्रेम भित्र कैद भएर
सजिए
कुनै बटुवाहरु याद बनेर सजिए-मुटुको भित्तामा

कुनै बाटा यस्ता पनि थिए
जहाँ मैले आफ्नो गन्तव्य सोध्नलाई बटुवाहरु थिएनन्
बाटाभरी काडाहरु छरिएका थिए-घृणाका
नमिठो दुर्गन्ध आइरहेको हुन्थ्यो-मरेर कुहिएका चाहनाहरुको

जहाँ बिधुवाको पुछिएको सिउदोको खुसी बगिरहेको हुन्थ्यो-दुखै दुखको नदीमा

जहाँ सिपाहीले छातीमा सजाएको
आफ्नो प्रेमिकाको तस्बिर हुन्थ्यो-सिपाही कै रगतले लत्पतिएको

जहाँ रजस्वला भएकी नारीको योनिबाट बगेको रगत हुन्थ्यो
जुन रगतमा एउटा बलत्क्रित युवती खोजिरहेकी हुन्थिन-आफ्नो लुटिएको अस्तित्व

जहाँ एउटा प्रेमीको प्रेम पत्र हुन्थ्यो
जुन प्रेमीलाई बिछोड हुनुको कारण पनि थाहा थिएन

मैले त्यही जिन्दगीको बाटोमा
आमाको छातीमा टेकेर
बाबाको रगतले आफ्नो भाग्यमा खुसी लेखेर
बाध्यताको आँखिझ्यालबाट
जिन्दगी बुझ्नलाई चिहानतिर नियाल्दै थिए

फैसला स्वरूप मेरो हातमा
समयको अदालतबाट पठाइएको एउटा टुत्रा कागज आईपुग्यो
जसमा लेखिएको थियो मेरो अपराधको सजाय “जिन्दगी”


समयको अदालतमा
कठघराभित्र उभिएको-एउटा अपराधी

लाखौँ शुक्रकिटहरुसँगको दौडमा प्रथम बनेर
आज निस्किएको छु-जिन्दगीको यात्रामा

अमि प्रिन्स