अर्घाखाँचीको एयरपोर्टमा २ जनाको शव भेटियो
सन्धिखर्क- अर्घाखाँचीमा निर्माणाधीन एयरपोर्टमा दुई जनाको शव भेटिएको छ । सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा गएराति दुई जनाको शव भेटिएको हो ।
उनीहरूको मृत्यु मोटरसाइकल दुर्घटनाका कारण भएको बताइएको छ । उनीहरूलाई खोज्न गएका दुई जना भने घाइते भएका छन्।
एयरपोर्टको रनवेमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।
सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
यस्तै सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ।