आज बडादसैँको सातौं दिन घरघरमा फूलपाती भित्र्याइँदै - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

आज बडादसैँको सातौं दिन घरघरमा फूलपाती भित्र्याइँदै



काठमाडौ /असोज ११

बडादसैँको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ । फूलपातीका दिन घर, कोतघर, तथा दसैँ घरहरुमा उखु, अदुवा, धान, दारिम, केराको बोट, पैयुं जयन्ती फूल लगायतलाई फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।

 

घटस्थापनाकै दिनदेखि नवरात्र शुरु भएपनि आजदेखि दसमीसम्मका ४ दिन दसैँको विशेष चहलपहल हुन्छ । काठमाडौको हनुमानढोकामा गोरखाबाट धादिङको जीवनपुर हुँदै ल्याइने फुलपाती बसन्तपुरमा रहेको दसैँ घरमा भित्र्याइन्छ ।

गोरखाबाट जीवनपुरसम्म गोर्खाका ६ जना पुजारीको टोलीले त्यहाँबाट काठमाडौको जमलसम्म काठमाडौबाट गएको टोलीले लिएर आउँछ । फूलपातीलाई जमलदेखि बसन्तपुरसम्म नाचगान र झाँकी सहितको टोलीले दसैँघरमा भित्र्याउने परम्परा छ ।

यसका लागि तीनजना मगर र दुई–दुई जना नेवार र ब्राह्मणको टोली खटाउने गरिन्छ । यस्तै नुवाकोट दरबारबाट ल्याई हुनमानढोका दरबार क्षेत्रको कडेल्चोक भगवती समक्ष फूलपाती राख्ने गरिन्छ ।

नुवाकोटको धोबीचौरबाट ल्याइने फूलपाती लिन नेपाली सेनाको टुकडी धोवीचौरमा तैनाथ रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज काठमाडौंको टुंडिखेलमा फूलपाती बढाइ गर्दैैछ ।

यस अवसरमा सेनाका टुकडीले विभिन्न कवाज र युद्धकला प्रदर्शनी गर्छन् । फुलपाती बढाइ अवलोकन गर्न राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारी टुंडिखेल पुग्ने प्रचलन छ ।