वार्षिक ७० लाखको ज्यान लिने वायुप्रदूषण - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

वार्षिक ७० लाखको ज्यान लिने वायुप्रदूषण



जेनेभा – वायुदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ।

राष्ट्रसङ्घका लागि मानवअधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो सङ्ख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायुप्रदूषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताएका छन्।

विशेष प्रतिवेदक डेभिड बोइडले वायुप्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रूपमा लिइदिन विश्वका सरकारहरू समक्ष आग्रह गरेका छन्।

“वायुप्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान लिइरहेको छ। यसबाट महिला, बालबालिका र गरिब समुदायका मानिसलाई सबैभन्दा बढी असर परिरहेको छ,” बोइडले भने।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, “चीन समेतका धेरै मुलुकमा व्यापक रूपमा वायुप्रदूषण न्यून गरिएका सफलताका कथाहरू छन्। यी उदाहरणले वायुप्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टि भइसकेको छ।”

बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायुप्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसङ्ख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गर्नुभयो। मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन्।

स्वच्छ हावा सुनिश्चित गर्न नसक्नुको अर्थ मानिसको जीवन, स्वास्थ्य र भलाइप्रतिको अधिकार उल्लङ्घन मात्र नभई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन पनि हो, बोइडले भने।