विराटनगर - जहाजमा एक्कासी आगो लाग्यो : मन्त्रीले हेरेको हेर्‍यै - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विराटनगर – जहाजमा एक्कासी आगो लाग्यो : मन्त्रीले हेरेको हेर्‍यै



विराटनगर : बुधबार बिराटनगर विमानस्थलमा अचम्मको घटना घट्यो । काठमाडौंबाट म्याउण्टेन फ्लाइटका लागि बुधबार बिहान उडेको अरनिको एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आयो। जहाजलाई  आपतकालीन रुपमा विराटनगरमा अवतरण गर्नुपर्ने भयो भन्दै विमानस्थललाई जानकारी गराइयो।

आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै विराटनगर विमानस्थलमा सबै तयारी गरिएको थियो। त्यत्तिकैमा बिहान ८ बजे विराटनगर विमानस्थलमा चालक दलका सदस्यसहित ५४ जना बोकेको जहाज अवतरण भयो। त्यसको दुई मिनेट भित्रै एक्‍कासी जहाजमा आगो दन्कियो। धुँवाको मुस्लो छुट्यो।

आगो निभाउन दमकल घटनास्थलतर्फ कुँदे । एम्बुलेन्स र इस्ट्रेचरसहितका उद्धारकर्मी पनि त्यतै लागे। दमकलले आगो निभाउन थाले।उद्धारमा खटिएका नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, रेडक्रमकर्मी एवं विमानस्थलका कर्मचारी उद्धारमा सक्रिय भएर खटिए। बल्लबल्ल आगो नियन्त्रणमा आए पनि जहाजको केही भाग जलिसकेको थियो।

दुर्घटनामा चारजना यात्रुको मृत्यु भएको जानकारी विमानस्थलले दियो। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगियो। २० जना गम्भीर घाइतेमध्ये ११ जनालाई नोबेल शिक्षण अस्पताल र ९ जनालाई हाम्रो अस्पतालमा उपचारका लागि भर्ना गरियो।

मध्यम घाइते १५ जनामध्ये १० जनाको नोबेल र पाँचजनाको हाम्रो अस्पतालमा उपचार सुरु गरिएको विमानस्थलले जानकारी दियो । १५ जना सामान्य घाइते भएका थिए। घटनाका बारेमा ५/५ मिनेटमै विमानस्थलले अपडेट दिइरहेको थियो।

विमानस्थल वरपरका बासिन्दा अचम्म मानेर घटना नियालिरहेका थिए। कतिपयको मुहारमा डर र भय प्रष्ट झल्किएको थियो । विराटनगरबाट जहाजमार्फत विभिन्न ठाउँमा जानका लागि पुगेका यात्रुहरु पनि डराएर आत्तिएका थिए।

यो वास्तविक घटना नभइकन जहाज दुर्घटना भएका बेला हुनसक्ने जोखिम न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास थियो। बिना पूर्व सूचना गरिएको अभ्यासका कारण त्यहाँको वातावरण त्रासपूर्ण बन्नुका साथै विमानस्थल वरपर बसोबास गर्ने स्थानीय बासिन्दा आत्तिएका थिए।

निक्कै रमित लाग्दो पूर्व अभ्यास हेर्नका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीलगायत विमानस्थल पुगेका थिए। यसका लागि रेडक्रस, विभिन्न अस्पताल र जनप्रतिनिधिले सहयोग गरेका थिए।

विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यास गरिएको जानकारी दिए । विमानस्थलमा यस्तो अभ्यास प्रत्येक दुई वर्षमा गर्ने गरिएको उनको भनाइ छ।

‘विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर र अवस्थालाई बढाउन विभिन्न निकायसँग समन्वय गरेर यस्तो अभ्यास गर्ने गरिन्छ,’ उनले भने, ‘यसले जहाज दुर्घटनामा परिहालेमा तयारीको स्तर र क्षमता के हो भन्ने पनि प्रष्ट पार्छ।’ सिटौलाले उद्धारलाई प्रभावकारी बनाउन र उद्धारकर्मीको क्षमता बढाउन पनि पूर्व अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताए । फाइल तस्बिर

अन्नपुर्णको सहयोगमा