एआइए स्कुलद्वारा सम्मान तथा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग घोषणा

काठमाडौँस्थित एआइए स्कुलमा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा स्कुलले विद्यार्थी, कर्मचारी, अभिभावकलगायत विभिन्न विधामा सम्मान गरेको थियो।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद गणेश दुलालको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानका साथै विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा स्व. प्रसिद्ध कणेल उत्कृष्ट विद्यार्थी पुरस्कार गतवर्ष ३.९५ जिपिए ल्याउने दिलाशा सिंह ठकुरीले नगद २० हजार सहित सम्मान प्राप्त गरेकी छन् भने दीर्घसेवा सम्मानबाट लामो समय सेवा गरेका कर्मचारी सम्मानित भएका छन् ।
यस्तै विद्यालयमा पढेको विद्यार्थीबाट पहिलो डाक्टर बनेका सागर ज्ञवालीलाई समेत सम्मान गरिएको छ । गतवर्ष उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थी पुरस्कृत गरिएको छ । विद्यालयका अभिभावकमध्ये “वृहत् शंखमूल सरसफाइ अभियानका प्रमुख अभियन्ता केशव घिमिरेलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध क्रिकेट रङ्गशालाको लागि ३ लाख ४० हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विमल घिमिरेले गतवर्षका उपलब्धि र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए भने अभिभावकमध्येबाट बोल्दै शीतल नेपालले विद्यालयको क्रियाकलापबाट अभिभावक ढुक्क भएको जानकारी गराएका थिए ।

उक्त अवसरमा विद्यालयको वार्षिक प्रकाशन Bud of Awareness लोकार्पण गरिएको थियो भने भ्रमण वर्ष २०२० को थिममा भिजिट नेपाल र नेपालभरको पर्यटकीय गन्तव्यमा आधारित सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रम विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षता र कृष्णप्रसाद गैरे र खगेश्वर गिरीको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।





