कृषि विकास बैंकका अधिकृत सहित ८ जनालाई मुद्दा: ३४ करोडको दरले बिगो मागियो - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

कृषि विकास बैंकका अधिकृत सहित ८ जनालाई मुद्दा: ३४ करोडको दरले बिगो मागियो



काठमाण्डौ- कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा रकम हिनामिना गरेको आरोप छ।

गाैतमसहित ८ जनाविरुद्ध जनही ३३ कराेड ९३ लाख रुपैयाँ बिगाे माग गरी मुद्दा दायर गरिएकाे आयाेगले जनाएको छ ।

शाखा अधिकृत केदारप्रसाद गौतमले झुटो विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ ।

साथै उनी नक्कली नाम तेजबहादुर थापाबाट नागरिकता र राहदानी बनाएर विदेश जाने योजनास्वरुप भारत गएर बसेको पनि अख्तियारले जानकारी दिएको छ ।

यस्तै, बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आर्थिक कारोबार, कर्मचारीको रेखदेख र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी पूरा गर्न नसकेको भन्दै अख्तियारले मुद्धा हालेको हो ।

साथै रकम हिनामिना गर्न गौतमलाई सघाएको आरोपमा सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।