बालुवाटार काण्डमा नयाँ मोड: अग्नि खरेल पनि मुछिए, पक्राउ पर्न सक्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बालुवाटार काण्डमा नयाँ मोड: अग्नि खरेल पनि मुछिए, पक्राउ पर्न सक्ने



काठमाडौं । बालुवाटार जग्गा हिनामिनासम्बन्धि मुद्दाको अन्तिम तयारी हुँदा यसमा संलग्न कतिपय व्यक्तिहरू भूमिगत भएका छन् । प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्ने डरले उनीहरूको भागभाग भएको हो । यद्यपि, प्रहरीले उच्च पदस्थलाई पक्राउ गर्ने संकेत देखाएको छैन ।

यो प्रकरणमा अन्य उच्च पदस्थ व्यक्तिहरूको पनि संलग्नता देखिएको प्रहरी स्रोत बताउँछ । बिचौलिया रामकुमार सुवेदीको आर्थिक कारोबारको अनुसन्धान गर्दा उनीसँग उच्च पदस्थ व्यक्तिहरुको साझेदारी देखिएको छ ।

सुवेदी दम्पतीको नाममा अहिले पनि बालुवाटारमा २३ रोपनी जग्गा छ । जसको अहिलेको मूल्य करिब पाँच अर्ब रुपैयाँ छ । जतिबेला सो जग्गा उनको नाममा आयो, त्यतिबेला पनि उक्त जग्गाको मूल्य करिब एक अर्ब पर्ने देखिन्छ । तर, उनको त्यो आर्थिक हैसियत देखिन्न । स्रोतका अनुसार विभिन्न नेताहरूले सुवेदीको नाममा जग्गा राखेको पाइएको छ । सिबीआईले त्यसको पनि अनुसन्धान गर्दै छ ।

यसैक्रममा पूर्व महान्यायाधिवक्ता तथा एमाले नेता अग्नि खरेलको पनि सुवेदीसँग आर्थिक कारोबार देखिएको छ । उनै खरेलले गत वर्ष त्यस प्रकरणमा ठगी मुद्दा नचलाउने निर्णय गरेका थिए । नेता विष्णु पौडेल त पहिलदेखि नै यो प्रकरणमा मुछिएका व्यक्ति हुन् । त्यस्तै हालका महान्यायाधिवक्ता खम्बहादुर खातीको पनि यसका प्रतिवादीसँग निकटता देखिएको छ । कतिपयको त उनी कानूनी सल्लाहकार नै भएको समेत खुलेको छ ।

अर्काेतर्फ, सिआइबीले जग्गाका धनीलाई पनि जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाउने सम्भावना छ । त्यसमा सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई प्रतिवादी बनाउने कि नबनाउने भन्ने छ । यसअघि अख्तियारले जग्गा फिर्ता गर्ने सर्तमा उनलाई प्रतिवादी नबनाउने निर्णय गरेको थियो । प्रतिवादी बनाउँदा उनको पद नै जाने सम्भावना भएकाले प्रतिवादी नबनाउने सम्भावना रहेको स्रोत बताउँछ । रेग्मी कांग्रेस कोटाबाट सर्वाेच्चमा नियुक्त भएका हुन् ।