निकै अफ्ठ्यारो मोडमा एकता ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निकै अफ्ठ्यारो मोडमा एकता !



नेकपा एमाले–माओवादीबीच पार्टी एकताका लागि दस्तावेज र विधान तयार गर्न गठित दुई कार्यदलले चैत २० गते आफ्नो प्रतिवेदन बालुवाटार पुगेर एकता संयोजन समितिलाई बुझाएका थिए । त्यससँगै वैशाख ९ गते पार्टी एकता हुने कुराले बढी चर्चा पाएको छ ।

तर जनयुद्ध र चुनाव चिन्हका विषयमा एकता संयोजन समितिले नै टुंग्याउने गरी बाँकी विषय सकेर प्रतिवेदन आउँदा नेताहरूको मुहारमा खुसी छाउनुको साटो गम्भिरता देखियो ।

कारण थियो– प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फरक व्यवहार ।

प्रतिवेदन बुझ्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आधा घण्टा भाषण गरे, एकताको महत्वबारे बोले । तर, दाहालले यति मात्र भने, ‘धेरै कुरा ओलीजीले भनिसक्नुभयो, मेरो भन्नु केही छैन ।’

नेताहरुले फोटो खिचाए, हात मिलाए र दाहालको मनमा मिल्न बाँकी कुरा अरु पनि रहेछन् भन्ने एमालेका नेताहरुले महसुस गरे। माओवादी नेताहरु बाहिरिएपछि बालुवाटारमा बसेका एमालेका नेताहरुबीच चर्चा चल्यो– वैशाख ९ मा एकता हुन मुश्किल छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना र लेनिन जयन्ती पारेर २२ अप्रिल अर्थात वैशाख ९ गते पार्टी एकता हुन्छ भन्दै उत्साहित बनेका एमाले र माओवादीका नेता–कार्यकर्ताबीच नै अहिले प्रश्न उठ्न थालेको छ– एकता हुन्छ त ?

एकताबारे चौतर्फी संशय बढेपछि माओवादी अध्यक्ष दाहालले भने, एमालेसँग एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ, आशंका गर्नुपर्ने कुनै कारण छैन । अबको बैठकले एकता प्रक्रियालाई निर्णायक रुप दिनेछ, र वैशाख ९ गते नै एकताको घोषणा हुन्छ ।