ओली-नेपालबीच आधा दर्जन विषयमा सहमति - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

ओली-नेपालबीच आधा दर्जन विषयमा सहमति



काठमाडौँ- सत्तारूढ दल एमालेमा चार महिनादेखि जारी आन्तरिक विवादलाई समाधानको बिन्दुमा पुर्‍याएको दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले दाबी गरेको छ । पार्टीभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधि बन्द गर्दै शक्ति सन्तुलन मिलाएर अघि बढ्ने सैद्धान्तिक सहमति कार्यदलमा भएको छ ।

त्यही सहमतिको जगमा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउने गरी आइतबार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच औपचारिक सहमति गराउने तयारी छ ।

कार्यदलका नेताहरूले पार्टी एकताका विषयमा आइतबार औपचारिक रूपमा ‘सुखद समाचार’ आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्च अदालतबाट फैसला आउने सम्भावना भएकाले त्यसअघि नै पार्टीभित्र एकताको कोसिस भएको हो । त्यही कारण पनि आइतबार सहमति गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । अध्यक्ष ओली र नेता नेपाल पक्षका नेताहरूले आआफ्नो समूहमा सम्भावित सहमतिका विषयबारे शनिबार मध्यरातसम्मै छलफल गरेका थिए । सहमति हुने विषयमा सबैको स्वामित्व दिलाउने कोसिसअनुसार दुवै पक्षले आन्तरिक छलफल गरेका हुन् ।

शनिबार राति चलेको भर्चुअल बैठकमा नेता नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूसँग छलफल गरे । ‘कार्यदलमा भएका छलफल र अहिलेसम्म सहमति जुटेका विषयबारे सदस्यहरूले जानकारी गराउनुभयो,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘कार्यदलले फाइनल गर्नुअघि हाम्रो टिममा छलफल भएको हो । छलफल चल्दै छ । निष्कर्ष निस्केको छैन ।’

पार्टी विभाजनको संकट टार्न कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका करिब आधा दर्जन विषयमा सहमति जुटाएको सदस्यहरूको दाबी छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग गरिएको हस्ताक्षर फिर्ताबारे अदालतलाई प्रभावित नपार्ने गरी भाषा लेख्न कार्यदलमा सहमति बनेको नेताहरूको भनाइ छ । ‘हामीले काम टुंग्याए बराबर छ । भोलि (आइतबार) बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुनेछ,’ ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले भने ।

नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले आफूहरू छलफलको अन्तिम बिन्दुतिर पुगेको बताए । कार्यदल सदस्य गोकर्ण बिष्टले पनि आइतबार सुखद समाचार दिने गरी सफलता प्राप्त गर्ने दाबी गरे । ‘पार्टी एकताका समस्या के थिए, ती समस्याको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा गम्भीरताका साथ एकले अर्काको मनोविज्ञान र समस्या बुझ्दै छलफल गर्‍यौं । लगभग एउटा निष्कर्षमा आइपुगेका छौं । अब हामीसँग छलफलका त्यति धेरै विषय बाँकी छैनन् । एक हदसम्म त्यसलाई औपचारिकता दिने काम बाँकी छ,’ बिष्टले भने ।

कार्यदल सदस्यहरूका अनुसार शुक्रबार पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको हो । दुवै पक्षका नेता सम्मिलित कार्यदलका सदस्यले ‘पार्टी र संसदीय दल संस्थागत हिसाबले चल्ने’ भन्नेमा सहमति गरेका छन् । सहमति कार्यान्वयनका लागि आवश्यक परे विधान महाधिवेशन गर्ने समझदारी बनेको कार्यदल सदस्यहरूले बताएका छन् । विधान महाधिवेशन ओली पक्षले एकलौटी रूपमा घोषणा गरिसकेको छ । विगतका कमीकमजोरीलाई बिर्सेर भावनात्मक हिसाबले एकताबद्ध हुन समग्र पार्टी पंक्तिलाई आह्वान गर्ने विषयमा पनि कार्यदलमा सहमति जुटेको छ ।

दोस्रो तहका नेताहरूको सक्रियता र निरन्तरको अनौपचारिक छलफलपछि अध्यक्ष ओली र नेता नेपालले डेढ महिनादेखि निष्क्रिय कार्यदललाई सोमबार सक्रिय बनाएका थिए । कार्यदलमा ओली पक्षबाट नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षका तर्फबाट रावलको नेतृत्वमा घनश्याम भुसाल, बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । कार्यदलकै पहलमा बुधबार अध्यक्ष ओली र नेता नेपाल वार्तामा बसेका थिए । बिहीबार ओली र नेपाललाई पुनः वार्तामा बसाउने उनीहरूको योजना थियो । तर ठोस प्रगति नभएपछि उनीहरूबीच पुनः छलफल भएको छैन । कार्यदलले तयार पारेको मस्यौदामा सहमति भए ओली र नेपालबीच भेटको सम्भावना रहेको एक सदस्यले बताएको कान्तिपुरले लेखेको छ ।