एमाले ओली समुहले सर्वोच्च अदालतको आदेश नमान्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहले सर्वोच्च अदालतको आदेश नमान्ने भएको छ । अदालतको आदेश उल्लङ्घन गर्दै एमालेले बैठक डाकेको छ ।
आइतवार वालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले सर्वोच्च अदालतले मान्यता नदिएको महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।
यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका छन् । आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।
ज्ञवलीले महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण भएको भन्दै त्यस विरुद्धमा आफूहरु भ्याकेटमा गएको समेत बताए । बैठकपछि प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए ।
एमालेको माधवकुमार नेपाल समुहले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका छन् ।
उनले भने, ‘जेठ २७ गते सर्वोच्च अदालतले गरेको आदेश गम्भीर र त्रुटिपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो। त्यसलाई बदर गराउनका लागि हामी भ्याकेटमा पनि गइसकेका छौँ, राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बारेमा उल्लेख छ। यो दलहरुको नितान्त आन्तरिक विषय हो।’
उनले अगाडी भने, ‘त्यसको हामीले कानुनी प्रतिवाद गर्ने नै छौँ। गरिरहेका छौँ। तर, यति हुँदाहुँदै पनि अदालतको आदेश आइसकेपछि त्यसलाई मान्नु हाम्रो बाध्यता हो, कर्तव्य हो। त्यसलाई मानेर नै चल्छौँ। तर हामीलाई पूर्ण विश्वास छ। यस्तो कानुनभन्दा बाहिर गरिएको आदेश अन्तिम समयसम्म टिक्नेछैन’।