पाकिस्तानबाट रिहा भएका भारतीय पाइलटले के भने ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पाकिस्तानबाट रिहा भएका भारतीय पाइलटले के भने ?



भारतीय वायु सनोका विंग कमाण्डर अभिनन्दन वर्तमान शुक्रबार राति भारत फर्किएका छन् । हवाई आक्रमणका लागि पाकिस्तानी क्षेत्र गएका बेला उनलाई पाकिस्तानको वायु सेनाले नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानले अभिनन्दनलाई भारत फिर्ता गरेको हो । अभिनन्दन शुक्रबार राति वाघा–अटारी सीमा क्षेत्रको मार्ग हुँदै भारत आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी अधिकारीले अभिनन्दनलाई राति करिब ९ बजेर २० मिनेट जाँदा भारतीय अधिकारीलाई सुम्पिएका हुन् ।

अभिनन्दनले आफू स्वदेश फर्किन पाएकोमा खुशी व्यक्त गरेको भारतीय वायु सेनाले जनाएको छ । भारतको भूमिमा टेक्ने वित्तिकै अभिनन्दनले ‘आफ्नो देश आउन पाउँदा निकै खुशी लागेको छ’ भनेको उनलाई लिन सीमा क्षेत्रमा पुगेका भारतीय अधिकारीले बताएका छन् ।

त्यहाँबाट अभिनन्दन वायुसेनाको विमान मार्फत राति १२ बजेतिर दिल्ली विमानस्थलमा ओर्लिएका हुन् । त्यसपछि उनको स्वास्थ्य जाँचका लागि सेनाको अस्पताल लगिएको छ ।

उनको स्वदेश फिर्तीमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, रक्षा मन्त्री निर्मला सीतारमण, कांग्रेस अध्यक्ष राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसहितका नेताले खुशी व्यक्त गरेका छन् ।

भारतीय वायु सेनाको विमानका चालक अभिनन्दनलाई पाकिस्तानी सेनाले गएको फेब्रुअरी २७ मा नियन्त्रणमा लिएको थियो । अभिनन्दनलाई दुई दिनपछि पाकिस्तानले रिहा गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई शुक्रबार भारतलाई सुपुर्दगी गरिने बिहीबार नै जानकारी दिएका थिए । उनले पाकिस्तानको संसदमा भनेका थिए, ‘हिन्दुस्तानका पाइलट हामीसँग छन् । हामी शान्तिका लागि पहल गर्न चाहन्छौँ र यसका लागि उनलाई शुक्रबार रिहा गरिने छ ।’

पाकिस्तानले अभिनन्दनलाई विमान मार्फत इस्लामाबादबाट लाहोर ल्याइएको थियो । त्यसअघि पाकिस्तानले भिडियो जारी गरेको थियो । त्यसमा अभिनन्दनले भनेका छन्, ‘पाकिस्तानी सेना व्यवसायिक सेवा हो । मलाई अरुबाट बचायो, प्राथमिक उपचार दियो र अस्पतालमा जाँच गरायो ।’