व्यवस्था होइन, मुलुकको अवस्था बदल्नु छ: महामन्त्री शर्मा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

व्यवस्था होइन, मुलुकको अवस्था बदल्नु छ: महामन्त्री शर्मा



झापा। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाउनुपर्ने बताएका छन्। वर्तमान राजनितिक अवस्थामा सुधार ल्याउनसकेमात्रै समाजमा परिवर्तनको अनुभूती हुने उनले बताए।

महामन्त्री पदमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला आएका शर्माले लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न तथा राजतन्त्र पुनःस्थापनाको भ्रम नफैल्याउन आग्रह गरे।

संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाई गर्ने उनको भनाइ थियो।

“ठूलो पदमा पुगेँ भनेर म आफू जन्मेको जिल्लामा बधाई थाप्न पनि आएको होइन”, महामन्त्री शर्माले भने, “जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यही बेला बधाई पाउने हक राखुँला तर अहिलेलाई तपाईंहरुप्रति हार्दिक आभार व्यक्त गर्न आएको हूँ, शुभकामना लिन आएको हूँ ।”

उहाँले पार्टीको १४औँ महाधिवेशनले आम कार्यकर्तामा ऊर्जा भरेको बताए। काठमाडौँबाट आज चन्द्रगढी विमानस्थलमा आइपुग्दा उनलाई कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए शर्माले आजै मेची बहुमुखी क्याम्पसको हातामा पुगेर विसं २०४६ का शहीद राम थापाको सालिक र चन्द्रगढीमा रहेको जननायक विशेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण र श्रद्धासुमन अर्पण गरे।