पाँच वर्षभित्र ठोरी–केरुङ द्रुत गतिको रेल गुड्ने : प्रचण्ड - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

पाँच वर्षभित्र ठोरी–केरुङ द्रुत गतिको रेल गुड्ने : प्रचण्ड



चितवन । चुनावी नतिजालगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवा पुगेर छिट्टै चिनिया रेल त्यतैबाट आउने बताएका थिए । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पर्साको ठोरी पुगेर आगामी पाँच वर्षभित्र ठोरी–केरुङ मार्ग निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका छन् ।

सोमबार ठोरी गाउँपालिका आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै त्रिदेशीय साझेदारीका आधारमा आगामी पाँच वर्षभित्र ठोरी–केरुङ मार्ग निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका हुन् ।

भारतीय नाकाबन्दीका बेला केरुङ–रसुवागढी नाकाले जस्तै ठोरी नाकाले पनि पेट्रोलियम पदार्थ आयात गर्न सहज भूमिका खेलेको थियो । ठोरी पुगेर प्रचण्डले पनि ओलीकै भनाइको सन्दर्भ झिक्दै भने, “अब ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको छ । द्रुत गतिको रेल चड्ने सपना पनि पूरा हुँदैछ ।”

ठोरी पर्सा जिल्लामा परे पनि चितवनको माडीसँग सीमा जोडिएको ठोरी गाउँपालिकाले प्रदेश–३ मा राखिनुपर्ने माग राख्दै आएको थियो । ठोरीका स्थानीयले पटक–पटक प्रचण्डसहित विभिन्न दलका नेताहरूलाई भेटेर ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न आग्रह गर्दै आएका थिए ।

प्रचण्डले वाम गठबन्धनको सरकार बनेपछि ठोरीलाई प्रदेश–३ मा पार्ने प्रतिबद्धता जनाएका छन् । मधेस आन्दोलनका कारण पहिले ठोरीलाई गाभ्न सम्भव नभए पनि अब बन्ने नयाँ सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई प्रदेश–३ मा पार्ने रहेको प्रचण्डले बताए ।

उनले ठोरी–केरुङ मार्ग छिट्टै निर्माण गरिने दाबीसमेत गरेका छन् । उनले भने, “त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्त्वपूर्ण छ । यो मार्ग निकै छोटो र उत्कृष्ट बन्ने छ ।”

नाकाबन्दीका बेला महत्त्वपूर्ण भूमिका खेलेको ठोरी नाकालाई व्यवस्थित बनाउन आफूले सक्दो प्रयास गर्ने प्रचण्डले बताए । यस विषयमा ठोरी गाउँपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको प्रचण्डको भनाइ छ ।