निर्वाचन आयोगको निष्ठामाथि नै गम्भीर प्रश्न - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

निर्वाचन आयोगको निष्ठामाथि नै गम्भीर प्रश्न



काठमाडौं- विपक्षी पाँच दलको संयुक्त गठबन्धनले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका छन् । निर्वाचन आयोगले निरन्तर कानूनी व्यवस्था, स्थापित मान्यता र परम्परा उल्लंघन गरी कठपुतली बनेको नेपाली कांग्रेस लगायतका पाँच दलले आरोप लगाएका छन्।

राजनीतिक दल सम्बन्धी विवादमा आयोगले निर्धारित जिम्मेवारी अनुरूप निष्पक्ष रूपमा काम नगरेको पाँच दलको दाबी छ। कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगको व्यवहारले लोकतान्त्रिक अभ्यासमै आँच आउने निष्कर्ष निकालेका हुन्।

“निर्वाचन आयोगले विभिन्न राजनीतिक दल सम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरूप निष्पक्ष रूपमा काम नगरी कानून र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो,” पाँच दलको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्‍याउँछ। यस्ता गलत गतिविधिहरू अविलम्ब बन्द गरिनुपर्छ।”

लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख छ। आयोगले निर्णय नगरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सर्वोच्च अदालतमा पुगेको थियो। निर्वाचन आयोगको ३० जेठको निर्णयमा जसपाको यादव पक्षले असन्तुष्टि जनाएको थियो।