निर्वाचन आयोगले देउवालाई भन्यो : आफ्नै खर्चमा घर जानु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

निर्वाचन आयोगले देउवालाई भन्यो : आफ्नै खर्चमा घर जानु



काठमाडौं- निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी स्रोतसाधनको प्रयोग नगरी डडेलधुरा जान अनुमति दिएको छ।

निर्वाचन प्रचारप्रसारका लागि डडेलधुरा जान अनुमति मागेका देउवालाई आयोगले सरकारी स्रोतसाधन प्रयोग नगरी त्यसतर्फ जान अनुमति दिएको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारी स्रोतसाधन प्रयोग नगरी प्रचारप्रसारका लागि जान दिने गरी निर्णय भएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूको डडेलधुरा भ्रमणमा रोक लागउने गरी कुनै निर्णय भएको छैन,’ अर्यालले भने,‘सरकारी खर्च र स्रोतसाधान प्रयोग नगर्न मात्रै भनिएको हो।’

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले उम्मेदवारी दिएका छन्।

चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जानुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो।

त्यो पत्रको सम्बोधन गर्दै आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न÷नगराउन निर्देशन दिने निर्णय गरेको हो।

आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्य निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाउने गरी आचारसंहितामा व्यवस्था गरेको थियो।

तर, चौतर्फी दबाब परेपछि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी आयोगको अनुमतिबाट मात्रै जान पाउने व्यवस्था गरेको हो।

प्रधानमन्त्री देउवा बुधबार नै आफ्नो निर्वाचन क्षेत्र डडेलधुरा जाने तयारीमा थिए। बिहीबारदेखि उनको चुनावी कार्यक्रम तय गरिएको छ।