आत्मनिर्भरका लागि ब्युटीपार्लर तालिम तथा सिलाइ कटाई मेसिन वितरण - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आत्मनिर्भरका लागि ब्युटीपार्लर तालिम तथा सिलाइ कटाई मेसिन वितरण



विशाल पाण्डेय / सुखड ।

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा आत्मनिर्भरताका लागि ब्युटिपार्लर तालिम तथा सिलाइ कटाइ मेसिन वितरण गरिएको छ । एन. आर. एन वुमन फोरम (स्विजरल्यान्ड) को आयोजनामा कैलालीको अति बिपन्न बादी तथा मुक्त कमैया समुदायका महिलाहरुका लागि ४५ दिने ब्युटी पार्लर तालिम समापन तथा सिलाइ कटाई मेसिन वितरण गरिएको हो । सिपबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरिएको तालिमको बुधबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

कार्यक्रमका संयोजक प्रकाश मिश्रको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले सीप सिकेर व्यवहारमा लागू गरि जिविकोपार्जनमा सुधार ल्याउनु पर्ने बताए । तालिम लिएर सीप सिकेका ब्यक्तिहरूलाई व्यवसाय तर्फ उन्मुख गराउनको लागि घोडाघोडी नगरपालिकाले रकम उपलब्ध गराउने नगर प्रमुख चौधरीले बताए ।

चौधरीले विभिन्न किसिमको तालिमहरु लिएर व्यवसाय गर्ने इच्छा हुँदा हुँदै पनि आर्थिक स्थिती कमजोर भएर ब्यवसाय सुरु नगरेका ब्यक्तिहरुलाई ब्यवसाय प्रवर्द्धनका लागि आगामी दिनमा रकम उपलब्ध गराइने बताउदै एन आर एन वुमन फोरम स्विजरल्याण्डलाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रमका संयोजक प्रकाश मिश्रले स्विजरल्याण्डमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन एन आर एन वुमन फोरम (स्विजरल्याण्ड) ले आयोजना गरेको कार्यक्रममा विभिन्न सहयोगी दाताहरुबाट उठेको सहयोग रकमले ब्युटी पार्लर तालिमको आयोजना गरिएको जानकारी दिए । मिश्रले यस कार्यक्रमका लागि अहोरात्र खटिने एन आर एन वुमन फोरम स्विजरल्याण्डकि संयोजक शुभा एल्मर लामा, सुनम पन्त तथा सिलाइ कटाइ मेसिन वितरणका लागि रकम हस्तान्तरण गर्ने स्विस नागरिक लिया ह्यागी र आन्द्रेश ह्यागीलाई धन्यवाद व्यक्त गरे ।

आफुहरुले ब्युटी पार्लर तालिम तथा सिलाइ कटाइ मेसिन पाएपछी निकै खुशी लागेको र तालीमबाट सीकेको कुरालाई ब्यवहारमा लागु गर्ने सहभागी सुनिता बादीले बताइन् । तालिममा अति बिपन्न बादी तथा मुक्त कमैया समुदायका १० जना महिलाहरुलाई शोभा बिनाडीले ब्युटीपार्लर सम्बन्धि प्रशिक्षण दिएकी थिइन् भने ८ जना महिलाहरुलाई सिलाइ कटाइ मेसिन वितरण गरिएको छ ।  संचारकर्मी बिरेन्द्र शाहले संचालन गरेको कार्यक्रममा ब्युटीपार्लर तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।