१५ जना पर्यटक सँगै थिए, कसरी भयो आठ जनाको एउटै कोठामा मृत्यु ? - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

१५ जना पर्यटक सँगै थिए, कसरी भयो आठ जनाको एउटै कोठामा मृत्यु ?



मकवानपुर- १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगे। सातजना खाना खानेबित्तिकै कोठामा सुत्न गए। आठजना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए। चार बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे।

उनीहरू राति १ बजे कोठामा सुत्न गए। तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन्टमा रहेको ग्यास हिटर लिएर गएको होटलका म्यानेजर शिव केसीले बताए। उनका अनुसार प्रवीणकृष्ण नायरले हिटर दिन आग्रह गरेका थिए। ‘हिटर बालेर सुत्दा खतरा हुन्छ, मध्यरात भइसकेकाले सुत्न हामीले अनुरोध गर्‍यौं’, उनले भने।

ती आठजनाका लागि सोमबारको रात नै जीवनको अन्तिम क्षण बन्न पुग्यो। ‘बिहान करिब ८ बजे होटलका कर्मचारी चिया लिएर जाँदा ढोका नखुलेपछि हामीले अर्को कोठामा बस्ने उहाँहरूका साथीहरूलाई खबर गर्‍यौं’, उनले भने, ‘अर्को कोठामा बस्नेहरूले ढोका खोल्दा सबै जना अर्धचेत अवस्थामा भेटियो।’

थाहा नगरपालिका–४ दामनस्थित उक्त रिसोर्टमा अर्धचेत अवस्थामा रहेका आठै जनालाई कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो। काठमाडौंस्थित ह्याम्स अस्पतालले मंगलबार मध्याह्न उनीहरूलाई मृत घोषणा गरेको हो। होटलबाट हतारहतार अस्पताल पुगेका रामकुमार यूकेसहित सात जनाले उनीहरूलाई जीवित भेट्न सकेनन्।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रञ्जितकुमार पी, उनकी श्रीमती ३४ वर्षीया इन्द्रक्ष्मी र उनीहरूका छोरा ५ वर्षीय वैष्णव रञ्जित रहेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए। उनीहरूसँगै एउटै कोठामा सुतेका ३७ वर्षीय प्रवीणकृष्ण नायर र उनकी श्रीमती ३२ वर्षीया शाक्य शशी, उनीहरूका छोरा ५ वर्षीय अभी, छोरीहरू ७ वर्षीया अर्चना र ९ वर्षीया बन्द्राको मृत्यु भएको हो।

ह्याम्स अस्पतालमा पुर्‍याएलगत्तै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा ल्याउनुअघि नै उनीहरूको मृत्यु भएको अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. कमल थापाले बताए। ‘अस्पतालको हेलिप्याडमा उनीहरूलाई ओराल्नेबित्तिकै चेकजाँच गर्‍यौं तर उपचार सम्भव भएन’, उनले भने, ‘मृत्यु भइसकेको रहेछ।’

उनीहरूसहित १५ जना बा.३क ३६८८ नम्बरको बस चढेर पोखराबाट दामन घुम्न आएका थिए। रिसोर्टमा चारवटा कोठा बुक गरेकामा आठ जना एउटामा ग्यास हिटर बालेर सुतेका थिए। ‘रातको समयमा करिब माइनस ३ डिग्रीको तापक्रम थियो। उनीहरूले रेस्टुरेन्टलाई नै न्यानो पार्न सक्ने आठ फिट अग्लो ग्यास हिटर कोठामा लगेर बालेका रहेछन्’, थाहा नगरपालिका–४ का वडाध्यक्ष दीपक लामाले भने, ‘झ्यालढोका पनि थुनिएका थिए। ग्यासले अक्सिजन नै तानेर तातो दिने हो। रातभर हिटर बाल्दा बेहोसमै ज्यान गएको अनुमान गर्न सकिन्छ।’ अन्नपूर्णमा कृष्ण सारु मगरले लेखेका छन् ।

प्रहरी चौकी सिमभञ्ज्याङ र इलाका प्रहरी पालुङको टोलीले उनीहरूको उद्धार गरी काठमाडौं पठाएको थियो। दुई जना बस्नुपर्ने कोठामा ठूलो ग्यास हिटर बालेर आठ जना बसेका कारण अक्सिजन अभावमा उनीहरूको निसास्सिएर मृत्यु भएको हुन सक्ने मकवानपुर प्रहरीको प्रारम्भिक अनुमान छ। ‘घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौं’, जिल्ला प्रहरी प्रवक्ता कुर्मीले भने, ‘तर, भवितव्य नै हो भन्ने हाम्रो प्रारम्भिक अनुमान छ।’ ह्याम्सबाट आठै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ।

यसैबीच नेपाल घुम्न आएका आफ्ना आठ नागरिकको मृत्यु भएपछि उनीहरूका परिवारलाई सहयोग गर्न भारतको केरला प्रदेश सरकारले केन्द्र सरकारसँग आग्रह गरेको छ। केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखी नेपालमा ज्यान गुमाएका आफ्ना नागरिकका परिवारका लागि आवश्यक समन्वय र सहयोग गरिदिन भनेका हुन्।