'प्रोटोकल' विपरीत देउवापत्नी आरजुको भारतीय नेताहरूसँग भेटघाट - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

‘प्रोटोकल’ विपरीत देउवापत्नी आरजुको भारतीय नेताहरूसँग भेटघाट



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा यतिबेला भारत भ्रमणमा छिन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी राणालाई देउवाले आफ्नो आसन्न भारत भ्रमणको तयारीका लागि भारत पठाएका हुन् ।

राणाले भारतीय सत्तारूढ दल बीजेपी र विपक्षी दल कांग्रेसका नेताहरूलाई भेटिरहेकी छिन् । आइतवार उनले बीजेपीका विदेश विभाग प्रमुख बिजय चोथाइवालेलाई भेटेको तस्वीर सार्वजनिक भयो ।

उनले अन्य नेताहरूलाई पनि भेटेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीपत्नी भएकैले विदेश भ्रमणमा नेताहरूसँग राजनीतिक भेटघाट गर्नु कूटनीतिक मामिलामा राम्रो मानिन्न । उनले नेपालको तर्फबाट औपचारिक भ्रमण गरेकी होइनन् ।

‘व्यक्तिगत स्तरबाट भएको भारत भ्रमणलाई कूटनीतिक रंग दिने प्रयास गरिएको छ,’ विदेश मामिलाका एक विज्ञले भने, ‘प्रधानमन्त्री पत्नी भएकैले विदेश भ्रमणमा जाँदा राजनीतिक भेटघाट गर्नु उपयुक्त हुँदैन ।’

चोथाइवालेसँग पारिवारिक सम्बन्ध रहेकाले राणाले भेट गरेको कांग्रेसनिकट स्रोतले बतायो । अन्य नेताहरूसँगको भेटका बारेमा औपचारिक जानकारी कांग्रेसलाई छैन ।

यही पुसको अन्तिम साता प्रधानन्त्री देउवा भारत भ्रमणमा जाने तयारी गरिरहेका छन् । व्यक्तिगत भनिएपनि राणा देउवाकै भ्रमणको चाँजो पाँजो मिलाउन त्यता गएकी हुन् ।

भ्रमण भन्दा अघि भारतीय नेताहरूको नाडी छाम्ने देउवाको प्रयासलाई सार्थक रुप दिन राणा भारत भ्रमणमा गएको चर्चा चल्न थालेको छ ।
बालुवाटारमा एकछत्र चलाउन खोजेको आरोप राणालाई लाग्ने गरेको छ ।