आरजु राणा र मञ्जु खाँडको दादागिरी- निर्वाचनमा विवाद - Himal Post Himal Post
  • ३ पुष २०८१, बुधबार
  •      Wed Dec 18 2024
Logo

आरजु राणा र मञ्जु खाँडको दादागिरी- निर्वाचनमा विवाद



कांग्रेस संसदीय दलको नेताको निर्वाचनका क्रममा मतदानस्थलभित्र सांसद आरजु राणा र मन्जु खाँडले मतदान गरिरहेका सांसदहरुको तस्बिर खिचेपछि विवाद भएको छ। मतदानस्थलमा मोबाइल लैजाने तर तस्बिर नखिच्ने सहमति भएको थियो।

सहमतिविपरित प्रधानमन्त्री श्रीमती आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले मतदान गरिरहेका ९ जना सांसदको तस्बिर खिचेका हुन्। उनीहरुले तस्बिर खिचेपछि संस्थापन इतरपक्षका सांसदहरुले आपत्ती जनाएका हुन्।

कांग्रेस नेता जीवन परियारले सहमति विपरित तस्बिर खिचेपछि केही समय विवादको अवस्‍था सृजना भएको बताए। राणा र खाँण समानुपातिक सांसद हुन्।

बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरु हुने समय तोकिए पनि मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएको थियो।

संस्थापन पक्षले मोबाइल लैजान पाउनुपर्ने र शेखर-गगन पक्षले लैजान नहुने बताएपछि विवाद भएको थियो। त्यसपछि दुवै समूहबीच मोबाइल लैजान पाउने तर फोटो खिच्ने नपाउने सहमति भएको हो।

संसद दलको निर्वाचनको मतदान सकिएको छ। दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा रहेको छ।