रोग पत्ता नलागेपछि आरजु देउवाले गराइन् पाठेघरको शल्यक्रिया - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

रोग पत्ता नलागेपछि आरजु देउवाले गराइन् पाठेघरको शल्यक्रिया



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले पाठेघरको शल्यक्रिया गरेकी छन् ।

लामो समयदेखि भारतको राजधानीमा रहेकी आरजुले सोमबार आफ्नो शल्यक्रिया भएको जनाएकी हुन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएकी थिइन् ।

आरजुले दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन् । उक्त जानकारीमा भने उनले के को शल्यक्रिया भनेर खुलाएकी छैनन् ।

केको शल्यक्रिया गरिएको भन्ने नखुलाए पनि बालुवाटार स्रोतले भने पाठेघरमा समस्या आएकाले शल्यक्रिया गरेर निकालिएको जनाएको छ ।

स्रोतका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको थियो । त्यसलगत्तै परीक्षण गराउँदा पुष्टि भने हुन नसकेको बताइएको छ । पुष्टि हुन नसकेपछि चिकित्सकहरूले पाठेघर फाल्न सल्लाह दिएपछि उनको शल्यक्रिया गरिएको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा अहिले कुनै समस्या छैन।