आप्रवासन दिवस: पुर्व मन्त्री विष्टको मन छुने शुभकामना
काठमाडौं- पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले परदेशमा पसिना बगाएर मातृभूमिलाई टेवा पुर्याउने सबैलाई सम्मान ब्यक्त गरेका छन्। उनले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा यस्तो बताएका हुन् ।
दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत विष्टले यस्तो सन्देश प्रवाह गरेका हुन् । उनले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीहरूको सुरक्षा र संरक्षणमा राज्य संवेदनशील बन्नुपर्ने बताउँदै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनु जरुरी रहेको समेत बताएका छन् ।
पूर्वमन्त्री विष्टले आफ्नो कार्यकालमा सुरू गरिएको शून्य लागतमा काममा जान पाउने न्यायपूर्ण अवस्थाको सुनिश्चिताको लागि गरिएको प्रयत्न निरन्तरता पाउनुपर्ने समेत बताउंदै शुभकामना सन्देश प्रवाह गरेका छन् ।
यस्तो छ उनको शुभकामना सन्देश
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस- लाखौँ नेपालीहरू ठूलो सामाजिक मूल्य चुकाएर परदेशमा जोखिमपूर्ण काम गर्दै पसिनाको थोपाबाट मातृभूमिलाई टेवा पुर्याइराख्नु भएको छ । तपाईहरुलाई मेरो हार्दिक सम्मान !
गन्तव्य मुलुकका नागरिक सरह नेपालीहरूले पनि समान कामको लागि समान सुविधा र आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनु पर्दछ । संसारको जुनसुकै देशमा काम गर्ने नेपाली नागरिकहरुको सुरक्षा र संरक्षणको लागि राज्य संवेदनशील बन्नु पर्दछ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनु जरुरी छ । यसका लागि गरिबी, अभाव र बेरोजगारीको सामना गरिरहेका युवाहरूलाई शून्य लागतमा काममा जान पाउने न्यायपूर्ण अवस्थाको सुनिश्चिताको लागि हाम्रो प्रयत्न जारी थियो, यसले निरन्तरता पाओस । शुभकामना ।