आम्दालाई महिला स्वास्थ्य अनुसन्धान केन्द्र बनाउछौं : काँग्रेस - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आम्दालाई महिला स्वास्थ्य अनुसन्धान केन्द्र बनाउछौं : काँग्रेस



बुटवल, १६ मंसिर,

नेपाली काँग्रेसले बुटवलको दीपनगरमा रहेको सिद्धार्थ वाल तथा महिला अस्पताल आम्दालाई महिला स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनका क्रममा नेपाली काँग्रेसले उक्त अस्पताललाई ५ सय शैया सहितको महिला स्वास्थ्य अनुसन्धान केन्द्र बनाउने प्रतिवद्धता गरेको हो ।

शनिबार बुटवल वडा नं. ७ मा नेपाली काँग्रेसले गरेको घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य उम्मेदवार युवराज गिरीले उक्त अस्पताललाई स्तरबृद्धि सहित महिला स्वास्थ्य अनुसन्धान केन्द्र बनाउन आफू प्रतिवद्ध रहेको बताए । त्यस्तैगरी सरकारबाट प्रस्तावित मेडिकल कलेज तिलोत्तमा नगरपालिकामा बनाउने र सैनामैनामा आकस्मिक ट्रमा सेन्टर सञ्चालन गर्ने तथा बुटवलको लुम्बिनी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेजको रुपमा बिकास गर्ने उनले बताए ।

आफ्नो क्षेत्रमा पर्ने तीन वटा नगरपालिकालाई केन्द्रमा राखेर आँखा, मुटु, मृगौला, क्यान्सर, दाँत, छाला लगायतका बिशिष्टकृत सेवाकालागि निशुल्क सेवा केन्द्र सञ्चालन गर्ने पनि उनले जानकारी दिए।

घरदैलोका क्रममा क्षेत्र नं. २(१) बाट प्रदेश सभाका उम्मेदवार काजिमान श्रेष्ठले एमालेको बिरोधका बावजुध पनि नेपाली काँग्रेसको नेतृत्वमा आम्दा अस्पताल स्थापना भएको बताउँदै आम्दाको स्तरबृद्धि पनि नेपाली काँग्रेसकै दायित्व भएको बताए । उनले नागरिकको स्वास्थ्य तथा शिक्षालाई सरकारको दायित्वमा राख्नकालागि आफूहरु प्रतिवद्ध भएको पनि बताए ।

उनले यस क्षेत्रको सुकुम्बासी, खानेपानी लगायतका जनताका प्रत्यक्ष रुपमा भएका समस्या समाधानकालागि नेपाली काँग्रेसले प्रतिवद्धता व्यक्त गरेकाले पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गरे । उनले मजदुर अधिकारकालागि पनि आफ्नो उम्मेदवारी भएको बताउँदै ५ वर्ष भित्रमा उल्लेखित समस्या समाधान गर्न नसके अरु पार्टीका नेता जस्तो पुन भोट माग्न नआउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले अहिलेको निर्वाचन संसदीय निर्वाचन मात्रै नभएर लोकतन्त्रकालागि जीवन मरणको सवाल भएकाले लोकतन्त्र रक्षाकालागि नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गरे । उनले एमाले तथा माओवादीले बाम गठबन्धन गरेर मुलुकमा साम्यवादी व्यबस्था ल्याउन खोजेकाले पनि नागरिकका नैसर्गिक अधिकारको सुरक्षाकालागि नेपाली काँग्रेसले जित्नुपर्ने बताए ।

त्यस्तैगरी बुटवल नगर सभापति खेलराज पाण्डेले एमालेका जिल्लादेखि केन्द्रीय नेता रहेको बुटवल ७ बिकासमा पछाडी परेको बताउँदै एमालेकै बिरोधका कारण बिकासका काम अंगाडी बढ्न नसकेको आरोप लगाए । उनले काँग्रेस नेता स्वर्गीय सूर्यप्रसाद प्रधानले अंगाडी सारेको झुम्साखोला खानेपानी योजनामा एमालेनै बिरोध गरेको स्मरण गर्दै बुटवल ७ को खानेपानी समस्या त्यसैको उपज भएको बताए ।

नेपाली काँग्रेसले जिते बुटवलका समस्या समाधानकालागि आफै झोला बोकर समाधानमा लाग्ने बताए ।
नेपाली काँग्रेसले शनिबार बिहान वडा नं. ७ तथा दिउँसो वडा नं. ११ मा घरदैलो गरेको थियो । घरदैलोका क्रममा नेताहरुले सुकुम्बासी समस्या समाधानकालागि एक पटक अवसर दिन आग्रह गर्दै सुकुम्बासी समस्या समाधान नभए अर्को पटक भोट माग्न नआउने प्रतिवद्धता व्यक्त गरेको नेपाली काँग्रेस क्षेत्रीय प्रतिनीधि नेत्र भट्टराईले बताए।