नारायणहिटीपछि हायात होटल र सगरमाथा बेसक्याम्पमाथि आलेको 'एक्सन' - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

नारायणहिटीपछि हायात होटल र सगरमाथा बेसक्याम्पमाथि आलेको ‘एक्सन’



काठमाडौं – बतास समूहलाई नारायणहिटी सङ्ग्रहालयबाट तह लगाएका पर्यटनमन्त्री प्रेम आलेले सरकारी जग्गा हडप्ने र गडबडी गरिएका स्थानमा हात हाल्ने तयारी गरेका छन् ।

ऐतिहासिक स्थलमा रेष्टुरेन्ट बनाउन रोक्ने निर्णय गरेर चर्चामा आएका मन्त्री आलेले यतिबेला अन्य ठाउँमा पनि यस्तै अभियानमा चलाउन परामर्श गरिरहेका छन् ।

सरकारी जग्गामा हालीमुहाली गरेको प्रकरणबारे अहिले आलेले हायात होटल, तारागाउँ रिसोर्ट र सगरमाथा बेसक्याम्पबारे अध्ययन गरिरहेको स्रोत बताउँछ ।

०६९ सालतिर तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सुल्झाउन नसकेको हायातमा भएको भ्रष्टाचार प्रकरणबारे उनले चासो राखेको बताइएको छ ।

हायात प्रकरणमा हात हालेपछि कार्की एकाएक पछि हटेको चर्चा त्यतिबेला चलेको थियो । कार्कीले त्यतिबेला मुद्दा चलाउन मिल्ने आधार नभेटिएको बताउने गरेका थिए ।

तर त्यही काण्डमा मन्त्री आलेले भने हात हाल्ने तयारी गरेका छन् । यही क्रममा नारायणहिटीमा बनाउन थालिएको संरचना भत्काउन बतास समूहलाई चेतावनी दिएका मन्त्री आलेले अब हायात होटेलको समस्या पनि सल्टाउने निकटहरूलाई बताएका छन् ।

यसका साथै मन्त्री आलेले सगरमाथा बेस क्याम्सको जग्गा पनि सरकारका नाममा फिर्ता लिने तयारी गरिरहेको बताइएको छ ।

हायातको गडबडीबारे अख्तियार पछाडि हटे पनि पर्यटन मन्त्रालयले भने आफैँ अध्ययन अगाडि बढायो । मन्त्रालयबाट धेरैवटा कार्यदल पनि बने । तर, अहिलेसम्म हायातको विवाद समाधान हुन सकेको छैन ।

हरेक पर्यटन मन्त्रीले जिम्मेवारी सम्हाल्नासाथ हायात होटेलले उपभोग गरेको सरकारी जग्गा फिर्ता लिइन्छ भन्ने गरेका छन् । केपी ओली प्रधानमन्त्री भएका बेलामा पनि त्यहाँको सरकारी जग्गा फिर्ता लिइने चर्चा चल्यो । तर, ओली सरकारले त्यो काम गर्न सकेन ।