भोगेको नर्क र देखेको स्वर्ग - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भोगेको नर्क र देखेको स्वर्ग



~हेमन्त गिरी~ 
स्वर्ग भनेकै सुख हो। सुख भनेकै सुविधा हो। जति सुकै तर्क गरे पनि मानिसको लागि जैविक सत्य यही हो।
जापान घुम्न आउने साथीहरूका बाबा-आमालाई मैले सोध्‍ने प्रश्न एउटै हुन्छ- ‘बाबा-ममी, हजुरहरूलाई कस्तो लाग्यो जापान ?’

अनि उहाँहरू प्रायःले दिने उत्तर एउटै हुन्छ- ‘स्वर्ग रहेछ नि बाबु !’
कल्पना गरौँ त, हाम्रा बा-आमाले स्वर्गमा बास होस् भनी कति जप-तप,यज्ञ-व्रत गरे होलान जीवनभर ? आखिर स्वर्ग जिउँदै देखिँदो रहेछ भने मरे पछि स्वर्ग जाने भ्रममा बाबा-आमालाई जीवनभरको कमाई यज्ञ-यज्ञादीमा खर्च गराउन बाध्य कसले पाऱ्यो होला ?

राज्यले ! त्यही राज्यले जसले तिनै बा-आमाका छोराछोरीलाई पासपोर्ट बेचिरहेको छ चर्को मूल्यमा। स्वर्ग भनेको मरेपछि गइने ठाउँ हो भनेर गुमराहमा राखिएका बा-आमाहरू फेरि तिनै लाचार सन्तानले बोलाएर घुम्‍न भनी जापान, अमेरिका, युरोप, अस्ट्रेलिया जान्छन् अनि मर्नुभन्दा अघि आफ्ना सजीव आँखाले ‘स्वर्ग’ देख्छन्। आखिर ती स्वर्गहरू पनि त्यहाँको राज्यले नै बनाएको हो, यो कुरा बाबा-आमाहरूले चाल पाउँछन् वा पाउँदैनन्। घर फर्के पछि फेरि उनै रूख छाप, सूर्य छाप र गाई छाप कुराहरूमा अल्झिन्छन्, बिडम्बना !!

त्यसो त, जीवनको उत्तरार्धमा सन्तान आफ्नो काखबाट टाढा छ भन्ने कुराले उनीहरू त्यति पिरोलिन्नन्, जति उनीहरू मेरो सन्तान भूगोलको कुनै स्वर्गसरि टुक्रोमा छ भन्ने कुराले सन्तुष्ट हुन्छन् एक किसिमले।
निश्चय पनि बाबा-आमाले जीवनभर जप-तप-यज्ञ गरेको आफ्नो आँगन पारिको, आफ्नो सीमाना पारिको स्वर्ग आफ्ना सन्तानलाई अनुभूत गराउनका लागि भनेर पक्कै थिएन। आफ्नो आँगनमा नै स्वर्ग बसोस् भन्ने चाहनाले उनीहरूले आँगनमा अग्नि बनाएका थिए,लिङ्गो गाडेका थिए,कुण्ड बनाएर होम गरेका थिए तर राज्यको आँगनमा सैतानहरू बसिदिए सधैँ सधैँ र राज्यलाई नर्क बनाइरहे !

आज आफ्ना सन्तानहरू स्वर्गजस्तो धर्तीको एक टुक्रोमा वियोग र वेदनालाई साथी बनाई कठोर दुःख गर्छन् भन्ने कुराले बा-आमालाई त्यति पिरोल्दैन (खासमा पिरोल्नु पनि हुँदैन) किनकि पटकपटक सत्तामा बाँदरहरूलाई विराजमान गराउने काम बाबा-आमाहरूले नै गरेका हुन्। तर झन ठूलो बिडम्बना के भने, तिनै बाबा-आमाले स्वर्ग देखेको धर्तीमा श्रम, व्यवसाय तथा अध्ययन गरिरहेका सन्तानहरू आफ्नो स्वर्ग जस्तो देशलाई नर्क बनाउने र बाबा-आमाको जप-तपलाई फेल गराउनेहरूकै लँगौटी समातेर परदेशमा पनि उही घिनलाग्दो राजनीति गरिरहेका पाइन्छन्।

यस्तो देख्दा चाहिँ साँच्चै प्रतीत हुन्छ- अभागीहरूले देश त चिन्न सकेनन्, देशको राजनीति त बुझ्न सकेनन् सकेनन् खुद आफ्ना जन्म दिने बाबा-आमालाई पनि आज सम्म चिन्न सकेका रहेनछन्। उनीहरूको सुख र उनीहरूको चाहनाको स्वर्गलाई पनि चिन्न सकेका रहेनछन्। जसले बाबा-आमाको कल्पनाको स्वर्ग चिन्दैन, उसले तिनै आँखा र त्यही मनले सन्तानको सुख देख्‍न सक्छ भन्नु पनि भ्रम नै हो !

तपाईँ पोलिटिक्सको साइनो आम जीवनसँग छैन भन्नुहुन्छ नि। हेर्नुस्- एउटा परिवारसँग देशको राजनीतिले कसरी प्रत्यक्ष सरोकार राख्छ। बा-आमाले चेतनाको प्रयोग नगरेर जप-तप गर्नु भो सन्तानलाई स्वर्ग दिलाउने नाममा। बाँदरहरूलाई भोट हाल्नु भो केही हुन्छ कि भन्ने आसमा ! तर स्वर्ग चाहिँ समुद्र तरेर मात्र देख्‍न विवस हुनुभो बिचरा !

प्रिय परदेशी साथीहरू, अब तपाईँ-हामीले के गर्नु पर्ने हो आफ्ना सन्तानलाई स्वर्ग दिलाउन, त्यो आज देखि नै सोचौँ। नत्र उता आँगन भत्किने छ, यता स्वर्ग छ भन्ने भ्रममा बाँच्‍नु पर्ने छ सधै !