हायात होटल प्रकरणमा आले भन्छन्- 'आइसोलेसनमा छु, निस्केपछि एक्सन हुन्छ' - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

हायात होटल प्रकरणमा आले भन्छन्- ‘आइसोलेसनमा छु, निस्केपछि एक्सन हुन्छ’



काठमाडौँ- नारायणहिटी प्रकरणपछि चर्चाको शिखरमा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले जनताबाट आएको सकारात्मक प्रतिक्रियाबाट हौसिएका छन् ।

आफ्नो ड्युटी निभाउँदा मात्रै पनि जनतामा सकारात्मक प्रभाव परेको भन्दै उनले अब राज्यबाट फाइदा लिइरहेका यस्ता प्रकरणमा हात हाल्ने सुरसार गरेका छन् । मन्त्री आलेले नारायणहिटी र पशुपति धर्मशालापछि अब हायात होटलमाथि छानबिन गर्ने भएका छन् ।

मन्त्री आलेले हायात होटलले स्वामित्वमा लिएको सरकारी जग्गा हिनामिना भएको भन्दै छानबिन हुने बताएका छन्। मन्त्री आलेले अब हायात होटलबारे छानबिन गर्ने तयारी गरेको बताउँदै यसलाई छिट्टै टुंग्याउने समेत बताए । कोभिडका कारण आइसोलेसनमा रहेका मन्त्री आलेले यसबारे आफूले आन्तरिक रूपमा छानबिन गरिसकेको र छिट्टै प्रक्रिया थाल्ने बताए ।

हायात होटल प्रकरणमा सरकार ठगिएको भन्दै पटक पटक चर्चामा आउने गरेको छ । नयाँ सरकार आउनेबित्तिकै यसबारे छानबिन सुरू गर्ने र थामथुम पारेर छोड्ने गरिएको छ । यसपटक भने मन्त्री आलेले यसलाई छिट्टै टुंगोमा पुर्याउने गरी तयारी गरेको स्रोतले बताएको छ ।

बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको होटलमा सरकारी सेयरको हिस्सा निरन्तर घटाउने गरिएको छ । सुरूमा सरकारको ३९ प्रतिशत सेयर रहेको हायातको निजी साझेदारले ‘जालझेल गरी’ सरकारको हिस्सा अहिले ९ प्रतिशतमा झारेको चर्चा छ ।

यसबारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि पटक-पटक मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरे पनि थामथुम पारेर छोड्ने गरिएको थियो । हायातमा सरकारी सेयरको हिस्सा घट्दै गयो भने केही वर्षभित्रै सरकारी सेयर शून्यमा पुग्ने स्थिति रहेको बताउने गरिएको छ ।

त्यतिमात्रै होइन अर्बौं मूल्य पर्ने सरकारी जग्गा भने पूर्णरूपमा निजी कम्पनीले हडप्ने देखिएको छ । जोरपाटी जाने मूल सडकसँग जोडिएको हायात होटलले भोगचलन गर्दै आएको सरकारी जग्गाको मूल्य उच्च भएपनि सरकारी जग्गाको मुल्यांकन घटाउने गरिएको छ ।

यसका साथै मन्त्री आलेले सगरमाथा बेस क्याम्सको जग्गा पनि सरकारका नाममा फिर्ता लिने तयारी गरिरहेको बताइएको छ ।

हायातको गडबडीबारे अख्तियार पछाडि हटे पनि पर्यटन मन्त्रालयले भने आफैँ अध्ययन अगाडि बढायो । मन्त्रालयबाट धेरैवटा कार्यदल पनि बने । तर, अहिलेसम्म हायातको विवाद समाधान हुन सकेको छैन ।

हरेक पर्यटन मन्त्रीले जिम्मेवारी सम्हाल्नासाथ हायात होटेलले उपभोग गरेको सरकारी जग्गा फिर्ता लिइन्छ भन्ने गरेका छन् । केपी ओली प्रधानमन्त्री भएका बेलामा पनि त्यहाँको सरकारी जग्गा फिर्ता लिइने चर्चा चल्यो । तर, ओली सरकारले त्यो काम गर्न सकेन ।