इट्टा भट्टामा जिउँदै जनता पोल्ने आलमलाई कांग्रेसको सांसद पद उपहार - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

इट्टा भट्टामा जिउँदै जनता पोल्ने आलमलाई कांग्रेसको सांसद पद उपहार



नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोही क्षेत्रबाट एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो।

क्षेत्रीय सभापति सेख फैजुल्लाहको अध्यक्षतामा बसेको बैठकले आलमलाई प्रतिनिधिसभा सदस्यका लागि रौतहट–२ बाट एकल उम्मेदवार बनाउने निर्णय गरेको हो। कांग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले आलमलाई एकल उम्मेदवार बनाउने निर्णयसहित क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गरेको जानकारी दिए ।

क्षेत्रीय बैठकले जिल्ला सचिव गिरीलाई पनि रौतहट–२ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यसैगरी रौतहट–२ ‘क’ बाट ६ जनाको नाम सिफारिस गरिए पनि एकजनाका नाममा सहमति गर्ने प्रयास भइरहेको जिल्ला सचिव गिरीले बताए ।

अदालतको पुर्पक्ष आदेशमा ललितपुरस्थित नक्खु कारागारमा रहेका आलमलाई कांग्रेस क्षेत्रीय समितिले उम्मेदवारमा आलमको नाम मात्र सिफारिस गरेको विषयले निकै चर्चा पाएको छ। आलम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाटै निर्वाचित भएका हुन्। बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेपछि सांसदबाट निलम्बित उनी हाल पुर्पक्ष थुनामा छन् ।

रौतहट–२ लाई नेपाली कांग्रेसको गढ मानिन्छ। मधेस आन्दोलनका बेला एकपटकबाहेक कांग्रेसले रौतहट–२ मा २०४८ देखि निरन्तर जित्दै आएको छ। क्षेत्रीय समितिको बैठकमा रौतहट–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न कसैले पनि आकांक्षा नराखेकाले सबै पदाधिकारी र सदस्यले एकमतले आलमलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको जिल्ला सचिव गिरीको भनाइ छ।

आलमका छोरा डा. राजिक आलम रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख हुन्। कांग्रेसमा आलम खानदानको लगानी रहेको र यस क्षेत्रका जनताको आलम परिवारप्रति अपार श्रद्धा रहेकाले आलमका छोरा राजिकलाई नगरप्रमुख बनाएको तरुण दल रौतहटका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि सेख नौसाद आलमले बताए। उनले महम्मद आफताब आलमलाई पनि प्रतिनिधिसभा निर्वाचनमा एकल उम्मेदवार बनाउने निर्णय भएको बताए।

२०७७ माघमा कांग्रेसका सभापति शेरबहादुर देउवाले रौतहटको गढीमाई नगरपालिकाको धर्मपुरमा श्रीविष्णु महायज्ञ उद्घाटनका क्रममा आलम निर्दोष रहेको दाबी गर्दै जेलबाट निकाल्न पहल गर्ने बताएका थिए ।

यस्तो छ आलमविरुद्ध आरोप

पहिलो संविधानसभा निर्वाचनका बेला २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित सेख इन्द्रिसको घरमा साँझ ६ बजे बम विस्फोट भएको थियो। घरमा बम बनाउने क्रममा विस्फोट भएको प्रहरी अनुसन्धानले देखाएको छ। अनुसन्धानले पूर्वमन्त्री आलमको पनि घटनामा संलग्नता रहेको देखाएको छ।

विस्फोटमा परी सरुअठाका २४ वर्षका पिन्टु भनिने त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार उनीहरू विस्फोटमा घाइते भएका थिए। दुईजना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ। घटना लुकाउन घाइते भएका पिन्टु र ओसीलाई इँटाभट्टामा हालेर हत्या गरिएको आफन्तको दाबी छ ।

घटना पूर्वमन्त्री आलमको निर्देशनमा भएको दाबीसहित पिन्टुका बुबा श्रीनारायण सिंह र ओसीकी आमा रूक्साना खातुनले प्रहरीमा जाहेरी दिएका हुन्। किटानी जाहेरीमा आलमसहित उनका भाइ मोहम्मद मोबिन आलम, सेख भदई, सेख सेराज, सेख फजले हक, सगिर आलम, सेख जुमइन भन्ने सेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहको नाम छ ।

घटनालगत्तै प्रहरीले किटानी जाहेरी लिन नमानेपछि मृतकका आफन्तले हुलाकबाट जाहेरी पठाएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गर्दा घटनास्थलमा ओसीका लुगा र चप्पल मात्रै भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि रौतहट प्रहरीले इँटाभट्टाको माटो नमुना संकलन गरी प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँच्न पठाएको थियो, जहाँ माटो परीक्षण प्रविधि नभएको भन्दै परीक्षण भएन।

त्यसपछि प्रहरीले मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदा पनि प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरिएको थियो। सोह िविषयलाई महान्यायाधिवक्ता कार्यालयले पनि सदर गरेको थियो ।

त्यसपछि मृतकका आफन्त सर्वोच्च अदालतमा रिट हाल्न पुगेका थिए। रिट अदालतमा विचाराधीन रहँदा रुक्सानाको गोली हानी हत्या भयो। रिट दायर भएको दुई वर्षपछि सर्वोच्चको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै थप अनुसन्धान गरेर मुद्दा अदालतमा लैजान आदेश दिएको थियो।

त्यसपछि पनि सात वर्षसम्म मुद्दा अगाडि बढेन। अधिवक्ता पुष्प पौडेलले महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकिल कार्यालय रौतहट र प्रहरीलाई विपक्षी बनाएर अदालतको अवहेलनाको मुद्दा हाले। सोही मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले आदेश कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन बुझाउन महान्यायाधिवक्ता कार्यालयलाई आदेश ग¥यो। त्यसपछि बल्ल आदेशको पालना भयो। प्रहरीले अनुसन्धानबाट पूर्वमन्त्री आलमले जिउँदै मान्छे जलाएको प्रमाण फेला परेको दाबी गरेको छ।

प्रहरीले तयार पारेको यही प्रतिवेदनका आधारमा जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै सरकारी वकिल कार्यालयले २०७६ सालमा मुद्दा चलाएको थियो। सँगै रुक्सानालाई पनि गोली हानेर मारेको आरोप आलममाथि छ।

आलमसहितका अभियुक्त सबैलाई विस्फोटक पदार्थमा दुई वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसुरमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद र १ लाखरूपैयाँ जरिवाना माग गरी जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ। त्यसै मुद्दाको थुनछेक बहस सकिएपछि आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्ष थुनामा पठाएको नागरिकले लेखेको छ ।