आलमविरुद्ध आजीवन कैद सजाय मागसहित मुद्दा - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

आलमविरुद्ध आजीवन कैद सजाय मागसहित मुद्दा



जनकपुर । करिब दुई दर्जन युवालाई जिउँदै इँटाभट्टीमा हालेर जलाएको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद अफताव आलमलाई आजीवन कैद सजाय तोक्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गराउने अन्तिम तयारीमा लागेको छ ।

रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता आलम २०६४ चैत २७ गते बम विष्फोटमा घाइते भएका दुई नेपालीसमेत करिब दुई दर्जन युवालाई जिउँदै इँटाभट्टीमा झोंसेर जलाएको अभियोगमा गत असोज २६ गते पक्राउ परेका हुन् । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग तथा विष्फोटन पदार्थसम्बन्धी तीन मुद्दा चलाउन रायसहित जिल्ला प्रहरी कार्यालयले शुक्रबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

चैत २७ गते भएको उक्त विष्फोटनमा परी रौतहट, चारुअठाका त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको छ । बमको छर्रा लागेर घाइते भएका उनीहरुलाई घटना बाहिरिन नदिन आलमले जिउँदै इँटाभट्टामा हालेर जलाएको भन्दै दुवै परिवारले तत्कालिन समयमै किटानी जाहेरी दर्ता गराएका थिए । राजनीतिक आवरणमा कारवाहीबाट जोगिएका आलमसमेत उक्त घटनामा उनलाई सघाउने ११ जनाविरुद्ध सोमबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।

पूर्वमन्त्री समेत रहेका आलम, उनका भाई महताव आलम, सहयोगीहरु शेख भदै, मोविन आलम र शेष सराजुल विरुद्ध पीडित परिवारहरुले किटानी जाहेरी दिएका थिए ।