आजदेखि राष्ट्र बैंक फर्किए गभर्नर अधिकारी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आजदेखि राष्ट्र बैंक फर्किए गभर्नर अधिकारी



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (बुधबार)देखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो ।

गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए । उनी १२ दिनपछि कार्यालय जाँदै छन् । अधिकारीले भने, ‘अदालतको आदेशसँगै नियमित काममा फर्कन्छु । राष्ट्र बैंकको उद्देश्‍य पूर्ति गर्ने गरी काम गर्नेछु ।’

न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।