एमसीसी अनुमोदन गर्न नदिने सभामुखको सङ्केत
काठमाडौं- पछिल्लो समय सत्तारुढ दल र प्रतिपक्ष दुबैका लागि निकै रस्साकस्सी बनेको अमेरिकी सहयोग नियोग एमसीसी पास नहुने देखिएको छ ।
पूर्व सभामुख कृष्ण बहादुर महराले प्रतिनिधि सभामै प्रवेश गर्न नदिएको एमसीसी हालका सभामुख अग्निप्रसाद सापकोटाले पनि महत्व नदिने छाँट देखाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी पनि पास गर्ने अड्डी केसको एमसीसी पास नहुने देखेपछि नेपाली काङ्ग्रेसका शिर्ष नेताहरू कस्सिएको स्रोतले बताएको छ । अन्य काममा एकमत नभएपनि प्रधानमन्त्री ओली र विपक्षी दल एमसीसी सम्झौतामा भने एकमत देखिएका थिए ।
महरा सभामुख हुँदा एमसीसी प्रतिनिधिसभाबाट अनुमोदनका लागि प्रक्रिया अघि बढाएका थिएनन् । उनले सो प्रस्ताव पिजन होलमा राखेका थिए ।
प्रधानमन्त्री अस्पताल जानुअघि नै सापकोटाले एमसीसी संसद्बाट अनुमोदन नहुने संकेत गरेपछि ओली निकै असन्तुष्ट बनेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओली एमसीसी जसरी पनि संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।
पूर्वमाओवादी समूहका नेताहरू कुनै पनि हालतमा जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने भन्दै लबिङमा लागेका छन् । सत्तारुढ दल नेकपा नै एमसीसीको पक्ष र विपक्षमा बाँडिएपछि एमसीसी सम्झौता आठ महिनादेखि संसदमा अलपत्र परेको हो ।
गत असारमा संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौतालाई संसदको कार्यसूची बनाइएको छैन ।
आफ्नो अधिकार क्षेत्रभित्र आइसकेको विषयमा सभामुख सापकोटाले अग्रसरता लिएर समझदारी खोज्ने प्रयाससमेत गरेका छैनन् ।
अर्थमन्त्री डा.युवराज खतिवडाले असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गराएका थिए।