रात्रि ट्याक्सी चालकका अनेक पिडा: ज्यान बचाउने कि सेवा गर्ने ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रात्रि ट्याक्सी चालकका अनेक पिडा: ज्यान बचाउने कि सेवा गर्ने ?



काठमाडौं- नुवाकोटका दीपक तामाङ काठमाडौंमा राति राति ट्याक्सी चलाउँछन्। अर्थात् उनी नाइट ट्याक्सी चालक हुन्। उनी काठमाडौं आएर ट्याक्सी चलाउन थालेको दस वर्ष भइसक्यो।

आज बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकमा उनले रातको समय ट्याक्सी चलाउँदा भोगेका घटना सुनाएका छन्।

उनी भन्छन्, ‘यही होलीमा मलाई गल्फुटारमा एक जनाले चक्कु हानेको छ। यी हेर्नु त मेरो औंला छिन्न मात्र बाँकी छ। मेरो रुम गल्फुटार हो। रुमअगाडिपट्टि पार्क गरेर बसिरहेको थिएँ। राति त्यस्तै साढे १० बजेको थियो।

एउटा २८÷२९ वर्ष उमेरको मान्छे आएर ठमेल जाऊँ भन्यो। अहिले म रुममा सुत्न जान लागेको भनें। किनभने यसो हेर्दा मान्छे ठीकजस्तो लागेन। उसले किन जाँदैनस् र ेभनेर मुक्का हानिहाल्यो। आफू ट्याक्सीभित्र भएको मान्छे के गर्नु। उसले बाहिरबाट बजाको बजाइ गर्यो।

मैले रोक्ने प्रयास गरें। उसले गोजीबाट चक्कु निकालेको मैले देखिहालें। उसले मेरो घाँटीमा चक्कु हान्ने थियो सायद। मैले हत्त न पत्त उसले हानेको चक्कु च्याप्प समातें। मेरो हातमा चक्कुको धार थियो। तर पनि मैले त्यो चक्कु छाड्दै छाडिनँ। ट्याक्सीबाट बल्लबल्ल बाहिर निस्कें र उसलाई लात्तीले हानें।

अनि उसले चक्कु छाड्यो र भाग्यो। यसरी मैले मेरो ज्यान बचाएँ। नाइटमा ट्याक्सी चलाउन सजिलो छैन। त्रास नै त्रास हुन्छ। कसले कतिबेला के गर्छ पत्तै हुँदैन।