कमल थापाले भागवत गीताको पुस्तक छोएर खाए 'कसम' - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कमल थापाले भागवत गीताको पुस्तक छोएर खाए ‘कसम’



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने कसम खाएका छन्।

दुई राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको हो ।

‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ’, घोषणासभालाई सम्बोधनका क्रममा भागवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

थापाले अब कहिल्यै पार्टी नफुटाउने प्रतिवद्धता जनाउँदा हलमा गडगडाहट ताली बजेको थियो। गीताको पुस्तक समाएका थापाले अर्का दुई अध्यक्ष पशुपति शम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनीलाई समेत चाहिन्छ भन्दै त्यही छोडेका छन् ।

दुई पार्टीबीच एकताका लागि शनिबार राति सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो ।

कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो। पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ।

पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ।