लिङ्देनले भने: राप्रपाका नेताहरूकै कारण राजतन्त्र र हिन्दुराष्ट्र अन्त्य भयो - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

लिङ्देनले भने: राप्रपाका नेताहरूकै कारण राजतन्त्र र हिन्दुराष्ट्र अन्त्य भयो



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गरेका छन् ।

राप्रपा र राप्रपा संयुक्तको एकीकरण घोषणामा बोल्दै उनले नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको बताए ।

‘तपाईहरु नजुधेको भए, हामीलाई नजुधाएको भए, हामीलाई गाईगोरुजस्तो लुरुलुरु पछि नहिँडाएको भए यो देशमा गणतन्त्र आउँथ्यो ? संघीयता आउँथ्यो ?’ उनले प्रश्न गरे ।

राप्रपा फुटका कारण कांग्रेस र कम्युनिस्टले फाइदा लिएको लिङ्देनले बताए ।

भर्खर बहुदल आउँदैमा पार्टी दुई चिरा भएको र त्यतिबेलादेखि नेताहरुमा चेत नआएको लिंदेनले आरोप लगाए ।

‘तपाईहरुले आफूलाई मात्र बर्बाद गर्नुभएन, बहुदल आउँदा तपाईहरुले कांग्रेस– कम्युनिस्टको विकल्प दिनुहुन्छ भनेर आशा गरेका थिए’ उनले भने ‘अब पनि चेत आउनुपर्दैन ?’

अहिलेको एकता राप्रपाका नेतृत्वका लागि अन्तिम अवसर भएको पनि लिङ्देनले बताए ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्ने र पार्टी बाहिर रहेर नेताहरुबाट आशा गर्नेहरुलाई धोका दिने काम नगर्नुस्’ उनले भने ‘अब पनि धोका दिने हो भने देश र धर्मलाई धोका दिनु हो । ’

नेता लिङ्देनले अब यस्तो मौका फेरि नआउने भन्दै नेताहरुले सानो सानो कुरामा भलगडा नगर्ने र चित्त दुखाउँदैनौं भनेर प्रतिवद्धता जनाउनुपर्ने बताए ।